४ असोजमा अमेरिका जाँदै प्रधानमन्त्री ओली


काठमाडौँ – संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल ४ असोजमा अमेरिका जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली ८ असोजमा अमेरिकाको न्यूयोर्कमा सुरु हुने राष्ट्रसंघको महासभाको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

त्यस्तै उनी अमेरिकी राष्ट्रपति जो बाइडेनले ९ असोजमा दिने रात्रीभोजमा पनि सहभागी हुने मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । त्यस्तै १० असोजमा प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रसंघको समिट अफ द फ्युचर कार्यक्रममा पनि सम्बोधन गर्नेछन् । ७ कात्तिकमा उनले कोलम्बिया युनिभर्सिटी र ११ असोजमा हाभर्ड विश्वविद्यालयमा पनि मन्तव्य दिनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्नेछन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनीसँगै पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत रहनेछन् । प्रधानमन्त्री ओली अमेरिका भ्रमणबाट १४ असोजमा स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया