स्थानीय तह उपनिर्वाचनका लागि असोज १० देखि दल दर्ता


काठमाडौं – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ । आयोगले आज (बुधबार) प्रेस विज्ञप्तिमार्फत उपनिर्वाचनको कार्यतालिका स्वीकृत भएको जानकारी दिएको हो ।

कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि असोज ९ गते राजनीतिक दलको दर्ताको सूचना प्रकाशन हुनेछ । असोज १० देखि १६ सम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने र असोज २० गते दल दर्ता स्वीकृत गर्ने कार्यतालिका छ ।

निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख छ । कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने कार्यतालिका छ ।

कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका छ । मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने र १६ गते मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भएको प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया