एनपीएलमा मार्की खेलाडीलाई २० लाख


काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका ८ फ्रेन्चाइजका मार्की खेलाडी शनिबार तय भएका छन् । फ्रेन्चाइजका मार्की खेलाडी छुट्याउन गोलप्रथा गरिएको थियो ।

क्यान सचिव पारस खड्काका अनुसार मार्की खेलाडीले जनही २० लाख रुपैयाँ पाउनेछन् । अब खेलाडी दर्ताका लागि आह्वान गरिने क्यान स्रोतले जनाएको छ ।

क्यानका एक अधिकारीका अनुसार खेलाडीलाई अब ए, बी, सी र लोकल आइकन भनेर क्याटोगोरी गर्ने तयारी छ । हरेक फ्रेन्चाइजले ए श्रेणीका ३ जना, बी श्रेणीका ४ जना र सी श्रेणीका ३ जना खेलाडी भित्र्याउन सक्ने छ । त्यस्तै एक जना लोकल आइकन र ४ जना विदेशी खेलाडी भित्र्याउन दिने तयारी रहेको क्यान स्रोतले जनाएको छ ।

ए श्रेणीका लागि १० लाख, बी श्रेणीका लागि ५ लाख र सी श्रेणीका लागि २ लाख बेस प्राइस तोक्ने तयारी छ । ए श्रेणीका लागि १५ लाख, बी श्रेणीका लागि १० लाख र सी श्रेणीका लागि ५ लाख रुपैयाँ दाम फ्रेन्चाइजले लगाउन सक्नेछन् । लोकल आइकनको तलब भने फिक्स नहुने बताइएको छ ।

पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग मंसिर १५ गतेदेखि सुरु हुँदै छ। प्रतियोगितामा विराटनगर, जनकपुर, पोखरा, चितवन, काठमाडौँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम फ्रेन्चाइज टोली रहेका छन् । उनीहरू सबैका मालिक पनि तय भइसकेका छन् ।

प्रतिक्रिया