कोरोना नियन्त्रणका लागी आवस्यक संरचना तयार गर्न सरकारलाई संसदीय उपसमितिको १८ बुँदे सुझाव (पूर्णपाठ)


काठमाडौं – प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले संक्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ ।

कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिले बुधबार समितिसमक्ष आफ्नो प्रतिवेदन पेस गर्दै प्रत्येक अस्पतालमा संक्रामक रोग सम्बन्धी निश्चित शय्याको एकाइ व्यवस्था गर्न सुझाव दिएको हो । सिंहदरबारमा बुधबार बसेको समिति बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समिति सभापति जयपुरी घर्तीलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका छन् ।

कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्न सरकारले चालेको कदमको स्थलगत अनुगमन तथा निरीक्षण गरी उपसमितिले १८ बुँदे सुझाव समितिसमक्ष पेस गरेको संयोजक श्रेष्ठले जानकारी दिए । प्रतिवेदनमा निजी तथा सरकारी अस्पतालमा अक्सिजन प्लान्ट राख्ने व्यवस्था मिलाउनुपर्ने र भएका प्लान्ट निरन्तर रुपमा चालु राख्ने, संक्रामक तथा अन्य रोगका बारेमा जनस्तरमा निरन्तर रुपमा जनचेतना विकासको अभियान सञ्चालन, हाल स्वास्थ्य सेवामा दुर्गम र सुगमसम्बन्धी नीति यथावत् भएकाले विषयविज्ञ चिकित्सकको अभाव देखिएकाले चिकित्सक बढुवा प्रणालीमा सुधार तथा अस्पतालमा दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्न सुझाव दिइएको छ ।

खुला सीमा भएका ठाउँमा संक्रामकलगायत रोगसम्बन्धी जाँच गर्न स्थायी स्वास्थ्य परीक्षण केन्द्रको व्यवस्था, प्रादेशिक अस्पताल प्रदेशले नै सञ्चालन तथा केन्द्र, प्रदेश र स्थानीय तहअन्तर्गत सबै अस्पताल र स्वास्थ्य केन्द्र सञ्चालनका लागि स्पष्ट नीति ल्याउन पनि उपसमितिले सुझाव दिएको छ ।

प्रतिक्रिया