बर्दियाका स्थानीय तहलाई कोरियाले १ अर्ब अनुदान दिने


काठमाडौँ -कोरिया सरकारले समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयनका लागि ८ मिलियन डलर (झन्डै १ अर्ब ७ करोड रुपैयाँ) अनुदान सहायता दिने भएको छ ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बर्दिया जिल्लामा सो परियोजना अगाडि बढाउने सम्बन्धमा रेकर्ड अफ डिस्कसन (आरओडी) सम्झौता भएको छ । सम्झौतामा कोरिया सरकारको तर्फबाट देशीय निर्देशक मह्यन कोङ र मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरेका छन् ।

यो परियोजनाको लागत ८ मिलियन डलर रहेको कोइकाले जनाएको छ । परियोजनाको कार्यक्षेत्र बर्दिया जिल्लाका ८ स्थानीय तह रहने छन् । यस परियोजनाको मुख्य उद्देश्य बर्दिया जिल्लामा कृषि उत्पादनको क्षमता अभिवृद्धि, बजार सम्बन्ध स्थापना र मूल्य अभिवृद्धिको एकीकरणमार्फत मूल्य शृङ्खला स्तरोन्नति गर्नु रहेको कोइकाले जनाएको छ ।

स्थानीय समुदायको आवश्यकताका आधारमा स्थानीयबाट पहल भएका परियोजना तर्जुमा गरी समुदायलाई नै परियोजना कार्यान्वयनमा सक्षम बनाउने उद्देश्य रहेको कोइकाले जनाएको छ ।

प्रतिक्रिया