आक्रामक अख्तियारः प्रायोजित उजुरी डस्बिनतिर, भ्रष्टाचारका एक साताभित्र अनुसन्धान

१२ बर्षदेखि धुलो परेका फाइलको वास्तविकता खोजी कारबाही बढाउन प्रत्येक महाशाखालाई अख्तियार प्रमुख राईको निर्देशन


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय आक्रमक शैलीमा अनुसन्धान अगाडि बढाएको छ ।

प्रेमकुमार राई आयोग प्रमुख आयुक्त भएसँगै अख्तियारको कार्यशैलीलाई द्रुतगतिको मापदण्डमा परिवर्तन गरिएको छ। आयोगमा दैनिक दर्ता हुने भ्रष्टाचारसम्बन्धी उजुरीको फर्स्यौट द्रुतमार्गबाट गरिन थालिएको छ।

अख्तियार स्रोतका अनुसार दैनिक दर्ता भएको उजुरी प्रमुख आयुक्त राई आफैंले हेरेर सम्बन्धित महाशाखालाई निर्देशन दिन थालेका छन्।

उजुरीको ‘ग्रयाभिटी’का आधारमा राईले अनुसन्धान बढाउने या खारेज गर्ने भन्ने सम्बन्धित महाशाखालाई जिम्मा लगाउने गरेका छन्। कुनै पनि उजुरीमाथि एक साताभित्र प्रमाण पुगे थप अनुसन्धान र नपुगे डस्मिनमा फ्याँक्न राईले महाशाखालाई निर्देशन दिन थालेका हुन्।

अख्तियारमा पर्ने उजुरीहरु प्राय नियोजित रुपमा कसैलाई दुःख दिन र व्यक्तिगत रिसिईबी साँध्ने प्रकारका समेत रहेका पाइएपछि राई आफैं ब्रिफिङ लिन्छन् र निर्देशन दिन्छन्।

दिनको १५ देखि २० वटासम्म उजुरी अख्तियारमा पर्ने गरेको छ जसमा सरदर ५ वटा जती मात्र अनुसन्धानको लायक हुने गरेको अख्तियारका अधिकारी बताउँछन्। एक अधिकारी भन्छन्,‘धेरैचाहिँ प्रायोजित उजुरी हुने गरेको पाइएपछि द्रुतमार्गमा काम बढाउन थालिएको छ।’

राजनीतिक, आर्थिक चलखेलका कारण केही फाइलहरू १२ बर्ष देखि अख्तियारमा विभिन्न कारणले अड्काइएका थिए। ति फाईलहरु मुद्दा चल्ने अवस्थाका भए मुद्दा चलाउने र प्रमाण नभई कसैको स्वार्थ पूरा गर्न राखिएको भए डस्मिनमा फ्याँक्न प्रमुख आयुक्तको आदेश छ

यसअघि दर्ता भएका उजुरी महिनौसम्म पनि फाँटमा अल्झिएर बस्ने गथ्र्यो भने तलका सामान्य कर्मचारीले उजुरीलाई आधार मानेर ‘बार्गेनिङ’ गर्दै आएको गुनासो बढेको थियो।

अख्तियारले पछिल्लो समय उजुरी भन्दा पनि आफै सक्रिय भएर हरेक क्षेत्रका अनिमियताको बारेमा अनुसन्धानलाई तिब्रता दिईरहेको स्रोतको दाबी छ । हरेक भ्रष्टचारमा सरकारी कर्मचारीकै मिलोमतो रहेको अख्तियारको ठम्याई छ ।

आयोग प्रमुख राईले प्रत्येक माहाशाखालाई जिम्मेवारीमा कटिबद्ध रहन निर्देशन दिएका छन् । हरेक माहाशाखामा उपस्थित भई प्रमुख आयुक्त राईले सम्बन्धित माहाशाखा प्रमुखलाई बिभिन्न कारणले थन्किएका, धुलो परेका फाईललाई अगाडि बढाउन समेत आदेश गरेको स्रोत बताउँछ ।

राजनीतिक, आर्थिक चलखेलका कारण केही फाइलहरू १२ बर्ष देखि अख्तियारमा विभिन्न कारणले अड्काइएका थिए। ‘ति फाईलहरु मुद्दा चल्ने अबस्थाका भए मुद्दा चलाउने र प्रमाण नभई कसैको स्वार्थ पूरा गर्न राखिएको भए डस्मिनमा फ्याँक्न प्रमुख आयुक्तको आदेश छ’, अख्तियार अधिकारी भन्छन्।

अख्तियारमा नियुक्त भएका आयुक्तहरु समेत मुद्दा अनुसन्धान र तहकिकातमा पोख्त भएका कारण अब आयोगले अनुसन्धान गरेका मुद्दामा बढी सफल हुने आयोगका एक आयुक्तले बताए।

प्रतिक्रिया