कर्णालीमा पनि तयार भयो क्रिकेट मैदान


काठमाडौं – कर्णाली प्रदेशमा पनि क्रिकेट मैदान तयार भएको छ । यसअघि देशमा रहेका सातमध्ये एउटा पनि क्रिकेट मैदान कर्णालीमा थिएन ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कालुङचोक क्रिकेट मैदान दुई वर्षमा तयार पार्दै कर्णाली प्रदेश क्रिकेट संघलाई हस्तान्तरण गरेको छ । कालुङचोक कर्णालीमा निर्माण भएको पहिलो क्रिकेट मैदान हो ।

उक्त मैदानको बाउन्ड्री ६५ यार्ड छ, तीन कोठाको भवन बनेको छ । मैदानमा दुबो रोपिएको छ । पहिले ढुंगा र खाल्डाखुल्डीका कारण यो मैदानमा अभ्यास गर्न समेत मिल्ने अवस्था थिएन ।

खेलाडी राम्रो पिचमा खेल्न कर्णाली बाहिर जानुपर्ने बाध्यता थियो । खेल सञ्चालन गर्न पिचमा म्याट राख्नुपर्ने अवस्था थियो । पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुन्थ्यो ।

दुई वर्ष अघि कर्णाली प्रदेश खेलकुद परिषद्ले उक्त मैदान निर्माणको काम थालेको थियो । पछिल्ला दुई वर्षमा ३५ लाख र ८५ लाख गरी कुल १ करोड २० लाख रुपैयाँमा क्रिकेट मैदान तयार भएको हो ।

 

प्रतिक्रिया