इटलीको यो सहर जहाँ क्रिकेट खेल्न पाइँदैन, किन ?
काठमाडाैं- इटलीको एडियाट्रिक तटमा चर्को घाम लागेका बेला कङ्क्रिटको सानो ठाउँमा बाङ्ग्लादेशीहरूको एउटा समूह क्रिकेट अभ्यास गरिरहेको छ ।
उनीहरू मोन्फाल्कोने सहरको बाहिरी इलाकास्थित ट्रिएस्ट विमानस्थलनजिकै खेलिरहेका छन् किनभने सहरभित्र उक्त खेल खेल्न त्यहाँका मेयरले प्रतिबन्ध लगाइदिएका छन् ।
सहरभित्र खेलेको पाइए १०० यूरोसम्म जरिबाना तिर्नुपर्ने उनीहरूले बताए । “हामीले मोन्फाल्कोने सहरभित्र खेलको भए प्रहरी आएर हामीलाई रोकिसक्थ्यो,” टोलीका कप्तान मिया बापीले भने ।
सहरको एक स्थानीय पार्कमा क्रिकेट खेलिरहेका बङ्गाली किशोरहरूले बेहोरेको हालैको घटनाबारे उनले सुनाए । सुरक्षा क्यामराहरूले तिनले खेलेको दृश्य खिचेको पत्तो नपाएका ती किशोरहरूको खेललाई प्रहरी आएर भाँडिदिएको अनि जरिबाना तिराएको उनले बताए ।
“क्रिकेट इटलीको निम्ति नभएको उनीहरूको भनाइ हुन्छ । तर सत्य के हो थाहा छ ? यो सबै हामी विदेशी भएकाले गरिएको हो ।”
क्रिकेटमाथिको प्रतिबन्धले वास्तवमा मोन्फाल्कोने सहरमा बढ्दो तनावलाई सङ्केत गर्छ ।
सांस्कृतिक मौलिकता ‘खतरामा’
सो सहरमा जनसङ्ख्याको जातिगत वितरण इटलीकै निम्ति पनि अलि विशिष्ट खालको छ – झन्डै ३०,००० जनसङ्ख्यामध्ये एकतिहाइजति विदेशी छन् । तीमध्ये अधिकांश बाङ्ग्लादेशी मुस्लिम छन् जो ठूल्ठूला ‘क्रूज’ पानीजहाज निर्माण गर्नका निम्ति सन् १९९० को दशकको अन्त्यतिर त्यहाँ आएका थिए ।
सहरकी अतिदक्षिणपन्थी मेयर अन्ना मारिया सिसिन्टका अनुसार यसले गर्दा मोन्फाल्कोनेको सांस्कृतिक मौलिकता खतरामा परेको छ । आप्रवासीविरोधी भावना फैलिएका कारण उनी निर्वाचित भइन् र अब उनले आफ्नो सहर तथा इसाई मूल्यमान्यता ‘रक्षा’गर्ने अभियान चलाएकी छन् ।
“हाम्रो इतिहास मेटिँदै छ,” उनले भनिन् । “कसैलाई वास्ता नभएको जस्तो भएको छ । सबैथोक बिग्रँदो छ ।”
मोन्फाल्कोनेमा पश्चिमा पोसाक लगाएका इटलियनहरू सलवार, कमिज र हिजाब लगाएका बाङ्ग्लादेशीहरू सँगसँगै बस्छन्। त्यहाँ बाङ्ग्लादेशी रेस्टुराँहरू अनि हलाल पसलहरू छन् । साइकल हिँड्ने मार्गको सञ्जाल छ जसलाई मुख्यत: उक्त दक्षिण एशियाली समुदायका मानिसहरूले प्रयोग गर्छन् ।
आफ्नो दुई कार्यकालमा मेयर सिसिन्टले नगरका चोकहरूमा बाङ्ग्लादेशीहरूले बस्न प्रयोग गर्दै आएका बेन्च हटाइदिइन् अनि समुद्री तटमा मुस्लिम महिलाहरूको पोसाकको पनि आलोचना गरिन् ।
“यहाँ मुस्लिम अतिवादको हावा चलिरहेको छ – त्यस्तो संस्कृति जहाँ महिलालाई खराब व्यवहार गरिन्छ अनि पुरुषद्वारा दमन गरिन्छ ।”
मुस्लिमहरूको विषयमा गरेका टिप्पणीका कारण उनले ज्यान मार्ने धम्की खेप्नुपरेको छ । त्यसैले उनलाई अचेल चौबिसै घण्टा प्रहरी सुरक्षामा राखिएको छ ।
मिया बापी र उनका क्रिकेटर साथीहरू युरोपको सबभन्दा ठूलो अनि विश्वकै ठूलोमध्येको एक शिपयार्ड (पानीजहाज निर्माणस्थल) फिन्कान्टेरीमा पानीजहाज निर्माणका लागि इटली आइपुगेका हुन् ।
मेयरले उक्त कम्पनीले एकदमै थोरै ज्याला दिने गरेको आरोप लगाउँदै त्यतिमा कुनै इटलियनले काम नगर्ने हुनाले बाहिरबाट मानिस ल्याउनुपरेको बताइन् ।
तर सो शिपयार्डका निर्देशक क्रिस्टियानो बजाराका अनुसार कम्पनीले दिने गरेको तलब इटलीको नियमबमोजिम नै छ । “हामीले दक्ष कामदार पाउन सकेनौँ । युरोपमा कुनै शिपयार्डमा काम गर्न इच्छुक युवा भेट्टाउन निकै मुस्किल छ,” उनले भने ।
संसारमै इटलीको जन्मदर निकै कममा पर्छ। गत वर्ष इटलीमा प्रतिमहिला औसत १.२ शिशुका दरले केवल ३,७९,००० शिशु जन्मिए ।
त्यहाँ श्रमिकको अभाव पनि छ ।
अनुसन्धानकर्ताहरूको अनुमानअनुसार खुम्चँदो श्रमशक्तिका माझ इटलीलाई सन् २०५० सम्ममा प्रतिवर्ष करिब २,८०,००० विदेशी कामदारको आवश्यक पर्छ ।
इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी अतिदक्षिणपन्थी दल ‘ब्रदर्स अफ इटली’ को नेतृत्व गर्छिन् । आप्रवासन कटौती गर्न भने पनि उनले ईयूबाहिरका आप्रवासी कामदारहरूको कोटा बढाएकी छन् ।
तर मेयर अन्ना मारिया सिसिन्ट बाङ्ग्लादेशी मुस्लिमहरूको जीवनशैली मौलिक इटलियनहरूको जीवनशैलीसँग मेल नखाने ठान्छिन् ।
मोन्फाल्कोनेमा मेयरले सहरका दुईवटा इस्लामिक (सेन्टर) केन्द्रहरूमा सामूहिक प्रार्थना गर्न प्रतिबन्ध लगाइदिएपछि त्यहाँ तनाव झनै चर्कियो ।
“सहरका मानिसहरूले मलाई निकै स्तब्ध बनाउने खालका फोटो अनि भिडिओहरू पठाए जसमा ठूलो सङ्ख्यामा मानिसहरूले दुईवटा इस्लामिक केन्द्रमा प्रार्थना गरिरहेको देखिन्छ : एकै ठाउँमा करिब १,९०० जनासम्म,” मेयरले भनिन् । -बीबीसी