१६ लाख पर्यटक ल्याउने लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी


काठमाडौँ – सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल पर्यटक बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपकराज जोशी थिए । जोशीको कार्यकाल सकिएसँगै विश्वभर कोरोना महामारी सुरु भयो । त्यसयता लगातार घटिरहेको विदेशी पर्यटकको सङ्ख्या यतिबेला भने बढ्दो क्रममा छ ।

सन् २०१९ को हाराहारीमा पर्यटक आइरहेका समयमा उनै जोशी दोस्रो कार्यकालका लागि बोर्डको नेतृत्वमा आएको छ । तत्कालीन समयमा सीइओ जोशीको समन्वयकारी भूमिका र अन्तर्राष्ट्रिय बजारीकरणमा लिएको रणनीतिक कार्यक्रमले विदेशी पर्यटक आगमन बढेको थियो ।

प्रदर्शनीमार्गस्थित बोर्डको कार्यालयमा आज पदबहाली गर्दै सीइओ जोशीले आफ्नो प्राथमिकता बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनुमा रहेको बताए । सीइओ जोशीले भने, “मेरो पहिलो प्राथमिकता विदेशी पर्यटकको सङ्ख्या बढाउने हो, त्यसका लागि व्यापकरुपमा अन्तर्राष्ट्रिय प्रवद्र्धन, मुख्य बजार र क्षेत्र पहिचान गरी प्रभावकारी प्रवद्र्धनमा केन्द्रित गर्नेछु ।”

नवनियुक्त सीइओ जोशीले १६ लाख विदेशी पर्यटक ल्याउने सरकारी लक्ष्य पूरा गर्नेगरी काम गर्ने बताए । सरकारले चालु आबको बजेटमा उक्त लक्ष्य उल्लेख गरेको छ । सरकारले भ्रमण दशक कार्यान्वयन गर्दै ३५ लाख विदेशी पर्यटक भित्र्याउने योजना पनि अगाडि सारेको छ । सन् २०२३ देखि २०३१ लाई भ्रमण दशक मनाउने घोषणा गरेको छ ।

सीइओ जोशीले मुख्य गन्तव्यको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्ने तथा गुणस्तरीय पर्यटक भ्त्रियाएर गन्तव्य बजारीकरणमा ध्यान दिने उल्लेख गरे। पर्यटन क्षेत्रमा अध्ययन अनुसन्धान कम रहेको उल्लेख गर्दै उनले बजारको सम्भाव्यता र आगामी रणनीति बनाउने विषयलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको नेपाल ‘टुरिजम स्टाटिस्टिक, २०२३’ का अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१७ मा नौ लाख ४० हजार २ सय १८ पर्यटक आएका थिए ।

साथै सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को पहिलो आठ महिनामा सात सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

सीइओ जोशीले आफूले चार वर्षको स्पष्ट योजना बनाएर आएको र सोही आधारमा आफूले काम अगाडि बढाउने बताए । “मैले चार वर्षे रणनीतिको स्पष्ट खाका बनाएको छ”, उनले भने, “प्रत्येक वर्ष के काम गर्ने र त्यसपछि के उपलब्धि हासिल गर्ने भनेर स्पष्ट खाका बनाएको छु । त्यो छिट्टै सार्वजनिक गर्नेछु ।”

 

प्रतिक्रिया