वामपन्थीको नाममा तत्काल कुनै मोर्चा नबन्ने एमालेको निष्कर्ष


काठमाडौं – सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठकले तत्काल वामपन्थीको नाममा कुनै मोर्चा नबन्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय च्यासलमा दुई दिन बसेको बैठकले वामपन्थी मोर्चाको सम्भावना नरहेको निचोड निकालेको हो ।

‘वामपन्थीको नाममा तत्काल कुनै मोर्चा बन्दै न। त्यसको सम्भावना पनि छैन’, पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठकको निष्कर्ष सुनाए । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आचरणहीन र चरित्रहीन कुरा पार्टीले नसहने बताएका थिए ।

अध्यक्ष ओलीले कांग्रेस–एमाले नेतृत्वको सरकार बनेपछि अर्थतन्त्रमा पनि सुधार देखिएको बताए । उनले समाजमा अराजकता बढिरहेकोप्रति चिन्ता समेत व्यक्त गरेको विभाग प्रमुख गौतमले जानकारी दिए । ‘हामी नागरिक सर्वोच्चता चाहन्छौं । हामी कुनै पनि खाले निरंकुश र अनुशासनहीनतालाई अस्वीकार गर्छौं,’ ओलीले भने ।

अध्यक्ष ओलीले आगामी निर्वाचन एमाले एक्लै लड्ने समेत बताएका छन् । ‘निर्वाचनमा एमालेले नीति तथा कार्यक्रमको आधारमा एक्लै चुनाव लड्छ । कसैको बैशाखी टेक्दैन,’ ओलीले भने । त्यस्तै संविधानमा देखिएका समस्याहरू पुनरावलोकन हुने निष्कर्ष पनि एमालेले गरेको छ । ‘पार्टीले तोकेको जिम्मेवारी पहिले पूरा गर्नुपर्‍यो अनि बल्ल मूल्यांकनको कुरा आउँछ,’ गौतमले भने । बैठकमा महासचिव शंकर पोखरेलले पेस गरेको प्रतिवेदनमाथि ५१ सदस्यले राय प्रस्तुत गरेका थिए । उनीहरूले निर्णय कार्यान्वयन गर्न जोड दिएका थिए ।

प्रतिक्रिया