शिवानी एयरको बक्यौता ५५ लाख, नतिरे प्राधिकरणले पाटपूर्जा लिलाम गर्ने
काठमाडौं- नागरिक उड्डयन प्राधिकरणका अनुसार शिवानी एयरको २०६९ असोज ८ गतेसम्ममा ५५ लाख ५० हजार रुपैयाँ बक्यौता रहेको छ । तर, ४ पटक सूचना जारी गर्दासमेत बक्यौता नतिरेपछि प्राधिकरणले शिवानी एयरका जहाजको पाटपूर्जा बेचेर बक्यौता असुल गर्ने तयारी गरेको छ ।
उक्त रकम उठाउन प्राधिकरणले विभिन्न समयमा सार्वजनिक सूचना जारी गर्दा पनि शिवानी एयरले बक्यौता तिर्न अटेर गरेकोले अन्तिम पटक सोमबार सूचना जारी गरेर २१ दिनको समय दिएको छ ।
यो अवधिभित्र पनि बक्यौता नतिरे शिवानी एयरको भैरहवामा रहेको जहाजको पाटपूर्जा बिक्री गरेर बाँकी असुल गर्ने प्राधिकरणले जनाएको छ । उक्त पाटपूर्जा बिक्री गर्दासमेत शिवारी एयरको बक्यौता असुल नभए सञ्चालक मणिन्द्रलाल रन्जितकारबाट असुल गरिने भएको छ ।
आर्थिक संकटका कारण बन्द भएको शिवानी विमान चालकहरुलाई प्रशिक्षण दिने एयरलाइन्स हो । शिवानी एयरले वायुयान चालक प्रशिक्षण संस्था संचालन गर्दा भरतपुर विमानस्थलमा जग्गा भाडामा लिई ह्यांगर बनाएको थियो । त्यहाँ शिवानीले तीनवटा लाइट जहाज पनि राखेको छ ।