राजनीतिक अस्थीरताको असर अर्थतन्त्रमा पर्यो : अर्थमन्त्री पौडेल
काठमाडौँ – उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक अस्थीरताको असर मुलुकको अर्थतन्त्रमा परेकाले स्थीर सरकार बनाउनुपरेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिक साधारणसभालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै पौडेलले वर्षमा तीन पटक अर्थमन्त्री फेरिने अस्थीरताको अवस्थाले मुलुकको अर्थतन्त्र लगाएतका क्षेत्रमा नकारात्मक असर परेको भन्दै स्थीर सरकार बनाउनुपरेको बताएका हुन् ।
उनले अब छिटोछिटो मन्त्री परिवर्तन हुने परिपाटी रोकिने बताए । वाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसकेको र प्रयाप्त तरलता हुँदाहुँदै पनि लगानी बढ्न नसकेको अवस्थालाई सबै मिलेर अन्त्य गर्नुपर्ने उनको भनाइ छ । अर्थमन्त्री पौडेलले अहिलेको मौद्रिक नीति लचिलो रहेको र अर्थतन्त्रको समस्या समाधानका लागि केहि योगदान पुग्ने विश्वास व्यक्त गरे । अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि सरकारको कदम प्रयाप्त नभएको देखिकाले सरकार निजि क्षेत्रलाई साथमा लिएर सशक्त ढंगले अघि बढ्न तयार रहेको उनले बताए ।
त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजि क्षेत्रको मनोवललाई उच्च राख्न केहि आधारशीला तयार भएको भन्दै यसवर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्ने धारणा राखे । चालू आर्थिक वर्षको सुरुमै पूजीगत खर्च राम्रो देखिएको, राजस्व संकलन सकारात्मक, कर्जा प्रवाहले समेत राम्रो संकेत देखाएको उनले बताए । उनले अर्थतन्त्रलाई सुधारका लागि सरकारसँग समन्वय गरेर आवश्यक ऐन कानूनको सुधारमा ध्यान दिएको उल्लेख गरे ।
त्यस्तै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयरलगायतका घरजग्गा लगायतका क्षेत्रमा देखिएका सकारात्मक संकेतलाई दिगो बनाउनुपर्नेमा जोड दिए । निजि क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउने कामले अर्थतन्त्रमा असर पर्न सक्ने उहाको भनाइ छ ।