गट्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
काठमाडौं – भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा साउन ३१ गते भएको दुर्घटनामा ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापाको बाह्रदशी गाउँपालिका–५ घर भएका ३१ वर्षीय सुवास बस्नेत, कपिलवस्तुका २६ वर्षीय सुदिप पराजुली, रामेछापको खाँडादेवी गाउँपालिका–६ का २७ वर्षीय देवराज खत्री र उदयपुरको चौदण्डी गढी नगरपालिका–६ का २९ वर्षीय रोहित थापामगर छन् ।
उनीहरुलाई ११ भदौमा भक्तपुरका विभिन्न ठाउँहरुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले जानकारी दिए । पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
साउन ३१ गते ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८०४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगा चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका स्कुटर चालक ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै ज्यान गएको थियो । ट्राफिक प्रहरीले नदेखिने ठाउँमा बसेर जाँच गर्न स्कुटर रोक्दा दुर्घटना भएको भन्दै प्रदर्शनमा उत्रिएकाहरु व्यक्तिहरुले ट्राफिक प्रहरीमाथि समेत आक्रमण गरेका थिए । प्रहरीले जथाभावी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै दुर्घटनापछि गठ्ठाघर चोक तनावग्रस्त बनेको थियो ।
प्रदर्शनलाई नियन्त्रणमा लिन भक्तपुरका एसपी वेद विष्टको कमाण्डमा ११८ जना र काठमाडौंका विभिन्न कार्यालयबाट १३० जना र सशस्त्र प्रहरीको १२० जनाको टोली खटिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड अश्रु ग्यास समेत प्रहार गर्नुपरेको थियो । प्रदर्शनका क्रममा एसपी विष्ट, प्रहरी सहायक हबलदार बहादुर राउत र भक्तपुरको गट्ठाघर बस्ने सौगात सापकोटा सामान्य घाइते भएका थिए ।
प्रदर्शनकारीले ट्राफिक आइल्याण्ड, प्रहरी बिट, बिटमा रहेको टेबल र ह्याण्ड सेटमा समेत क्षति पु¥याएका थिए । आक्रमणमा उत्रिएकाहरु मध्ये प्रहरीमाथि हातपात गर्नेहरुलाई पहिचान गरेर अहिले पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी यसअघि मृतक स्कुटर चालक आफ्नी बहिनी भएको बताउँदै प्रहरीको सम्पर्कमा पुगेका शम्भु नेपालीलाई हिरासतमा लिएर प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाएको थियो । उनी छुटिसकेका छन् ।