संयुक्त राष्ट्रसंघले पायो श्रीलंका मानवाधिकार उल्लंघनसम्बन्धी घटनाको छानबिन, १४ मुलुक तटस्थ


काठमाडौं – संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदले श्रीलंकामा तमिल विद्रोहका क्रममा भएको गम्भीर मानव अधिकार उल्लघंनका घटनाको विषयमा छानबिन गर्न अधिकार पाएको छ ।

श्रीलंकाले विद्रोही समूह तामिल टाइगर्सविरुद्धको युद्धमा गम्भीर किसिमको मानव अधिकार उल्लंघन गरेको भन्दै यस विषयमा मंगलबार यूएनएचआरसीमा मतदान भएको थियो ।

परिषदका ४७ सदस्य मुलुकमध्ये २२ वटाले श्रीलंकामा भएको गम्भीर मानव अधिकारको अनुसन्धान हुनुपर्ने पक्षमा मतदान गरेका थिए भने ११ मुलुकले विपक्षमा मतदान गरेका थिए । चीन, बंगलादेश र पाकिस्तानले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । उक्त मतदानमा नेपाल र भारतसहित १४ मुलुक तटस्थ बसेका छन् ।

मंगलबारको मतदानमा श्रीलंकाको विरुद्धमा धेरै मत परेसँगै राष्ट्रसंघ मानवाधिकार उच्च आयुक्तको कार्यालयले श्रीलंकाको युद्ध अपराधको दस्तावेजीकरण गर्ने अधिकार पाएको छ । सन् २००९ मा सकिएको गृहयुद्धको क्रममा भएको युद्ध अपराधको सूचना संकलन तथा संरक्षण गर्ने अधिकार उच्च आयुक्तको कार्यालयले पाएको हो ।

प्रतिक्रिया