झिटिगुन्टाको नाममा भन्सारमा कार्गो व्यवसायीको रजगज !

एजेन्ट र कर्मचारीको मिलेमतोमा अर्बौं राजस्व चुहावट


काठमाडौं – झिटिगुन्टाको नाममा भन्सारबाट अर्बौं राजस्व चुहावट हुने गरेको रहस्य खुलासा भएको छ । विदेशमा अध्ययन र काम गर्न गएका व्यक्तिहरुले विदेशबाट फर्किँदा प्रयोग भएका सामाग्री, दैनिक उपभोग्य तथा खाद्य सामाग्री ल्याउन पाउने नियमको गलत फाइदा उठाएर भन्सार कर्मचारी र कार्गो तथा कुरियर व्यवसायीहरुले सेटिङमा नयाँ सामानहरु समेत भित्र्याउने गरेका छन् ।

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट ऐनको गलत व्याख्या गर्दै प्रयोग भएका सामान ल्याउन पाउने भनिएकोमा कर्मचारीसँगको सेटिङमा दैनिक हजारौं किलो सामानहरु नेपाल भित्रैँदै आएको छ ।

भन्सार एजेन्टमार्फत भन्सार कर्मचारीसँगको सेटिङमा सनसाइन कार्गो,  ग्लोबल लजिस्टिक, प्राइम कार्गो, रियाउबल कार्गो, प्रदेशी कार्गो, ओयल कार्गो र नमस्ते सेवारोलगायतका कार्गो कम्पनीहरुले वर्षौदेखि झिटिगुन्टाको नाममा नयाँ सामानहरु भित्र्याउने गरेको पाइएको हो ।

भन्सार ऐनअनुसार नेपालीहरुले विदेशबाट प्रयोग भइसकेका विभिन्न सामाग्रीहरु भन्सार छुटमा ल्याउन पाउने व्यवस्था रहेको छ । विदेश बस्दा प्रयोग भएका टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रीजरेटर, वासिङमेसिन, लुगाफाटा, व्यावसायिक सामाग्रीहरु बढीमा बसाईको अवधि हेरेर बढीमा २/३ सय किलोसम्म सामान बिना भन्सार महसुल ल्याउन पाइने व्यवस्था रहेकोमा ती कम्पनीहरुले भन्सार कर्मचारीसँगको सेटिङमा ५ हजार किलोसम्म सामान जाँच पास गराउँदै अएका छन् ।

स्रोतका अनुसार दैनिक दश हजार किलो सामान यही प्रकृतिबाट नेपाल भित्रँदै आएको छ । यसरी भन्सार एजेन्ट, व्यवसायी र भन्सारका महानिर्देशकसम्मबाटै नीतिगत भ्रष्टाचार हुने गरेको स्रोतको दाबी छ । तर, सेटिङ गरेर नियममै नरहेको प्रतिकिलो ५० रुपैयाँ असुल्ने गरेका छन् । आयात गरिएको सामानको कुनै मूल्यांकन नै नगरि भन्सार कार्यालयले उक्त रकम असुल्ने गर्छ ।

विदेशबाट झिटिगुन्टाको नाममा एलसी नै नखोली नयाँ सामानहरु भित्र्याउने गरिएकोले भन्सार कार्यालयबाटै वार्षिक अर्बौं राजस्व गुमेको छ । त्यसका लागि कार्गो कम्पनीहरुले भन्सार एजेन्ट र कर्मचारीको प्रयोग गर्ने गरेका छन् । त्यसरी अवैध रुपमा ल्याउने गरिएको सामानका लागि अवैध रुपमै विदेश पैसा पठाउने गरिन्छ ।

टीटी वा बैंकिङ प्रणालीमार्फत् पैसा नपठाएर हुण्डीमार्फत् पैसा पठाएर खरिद गरिन्छ । त्यसका साथै ती सामानहरु भित्र्याउँदा आयात निर्यातका लागि आवश्यक पर्ने एक्जिम कोडसम्म नभएका कम्पनीहरुले सामान भित्र्याउने गरेका छन् ।

यी कम्पनीहरुले झिटिगुन्टाको नाममा नयाँ सामान भित्र्याउँदा वैधरुपमा व्यापारका लागि सामान आयात गर्ने व्यापारीहरु मारमा परेका छन् ।

ती कम्पनीहरुले विशेष गरी वैदेशिक रोजगारीका लागि धेरै नेपालीहरु रहने गरेका सिंगापुर, युएई, कतार, साउदी अरेबिया, मलेशिया, हङकङ जस्ता मुलुकबाट सामान ल्याउने गरेका छन् ।

भन्सार एजेन्ट र कर्मचारीसँगकै सेटिङमा केही समयअगाडि विमानस्थल भन्सार कार्यालयबाट सुनसमेत भित्र्याइएको खुलेको थियो ।

देशकै राजधानीको मुख्य भन्सार कार्यालयहरुमै विचौलिया र व्यवसायीहरुले यस्ता अवैध काम हुँदै आएको छ भने उपत्यकाबाहिरका भन्सार कार्यालयको अवस्था कस्तो होला ? सरकारले निम्नबर्गीय नेपालीको हितमा ध्यान दिँदै बनाएको कानुनी प्रावधानलाई अपव्याख्या गर्दै बिचौलिया र कर्मचारीहरुले मुलुकको राजस्वलाई छलिरहेका छन् ।

प्रतिक्रिया