बालेनविरुद्ध न्यूरोडमा उग्रशैलीमा उत्रिएको सडक विभाग कमलादीमा कता गयो ?
सडक विभाग – देशभित्रका प्रमुख सडकहरुको जिम्मेवारी लिएर बसेको सरकारी निकाय । जसको प्रमुख दायित्व भनेको देशभित्रका सडकहरुको मर्मत सम्भारका साथै कतिपय अवस्थामा निर्माण समेत गरी आम जनतालाई आवतजावतमा सहजता प्रदान गर्न हो । त्यही सडक विभाग पछिल्लो समय राजनीतिक कू–संस्कारमा रुमल्लिएको छ ।
न्यूरोडमा बालेनविरुद्ध मैदानमा उत्रिएको सडक विभागले पछिल्लो समय राजधानीको कमलादीबाट कमलपोखरी जाने मुख्य सडकको बीचमा परेको भ्वाङ टाल्न भने नजर लगाउन सकेको छैन । राजधानीको मुख्य बजार मानिएको दरबारमार्ग जोड्ने मुख्य सडकमा ५ मिटर गहिरो र १० मिटर लम्बाईको भ्वाङ पर्दा भने सडक विभाग चुपचाप बसिरहेको छ । साउन २४ गते परेको भ्वाङ टाल्नका लागि अहिलेसम्म केही काम अगाडि नबढाएको सडक विभागले काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडकलाई बेवास्ता गरेको छ ।
गत जेठमा १२ गते काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउन भत्काएको न्यूरोडको पीच सडक विभागले सयौं मजदुर लगाएर टालेको आम जनताले बिर्सिएका छैनन् । राजधानीको प्रमुख व्यापारिक स्थान न्यूरोड क्षेत्रमा पैदलयात्रुलाई सुविधा पुर्याउने उद्देश्यसहित महानगरपालिकाले नियमअनुसारकै फुटपाथ बनाउन लागेको बेला बालेनविरुद्ध उत्रिएको सडक विभाग अहिले भने निदाएर बसेको छ ।
सडक विभागले न्यूरोडमा भने सयौं मजदुरहरुलाई महानगरले काटेको सडक टाल्न प्रयोग गरेको थियो । तर पछिल्लो समय टुकुचा नजिकैको भ्वाङ टाल्नतर्फ भने ध्यान दिन सकेको छैन ।
न्यूरोडमा महानगरसँग परेको द्वन्द्वको रिस विभागले कमलपोखरीमा साँधेको हो कि भन्ने पनि स्थानीयहरुले आशंका गर्न थालेका छन् । फुटपाथमा समेत हिँड्न अप्ठेरो भइरहेको उक्त एकतर्फी सडक अवरुद्ध हुँदा आम उपभोक्तालाई ज्यादै असहज अवस्था सिर्जना भएको छ ।
महानगरपालिकाले न्यूरोडमा फुटपाथ बनाउन लागेपछि आफ्नो अधिकार क्षेत्र खोज्दै सडक विभागले राजधानीका गल्ली–गल्लीका पोलमा ‘स.वि.’ लेख्दै आफ्नो अधिकार क्षेत्र भन्दै हुँकार मच्चाइरहेको बेला अहिले मुख्य सडकमै त्यति ठूलो भ्वाङ पर्दा भने कानमा तेल हालेर बसिरहेको छ ।
अधिकार क्षेत्र भन्दै रातारात राजधानीका सडकका बिजुलीका पोलमा ‘स.वि.’ लेख्न हतार गरेको विभागले २ साताभन्दा अघिदेखि अवरुद्ध रहेको सडक खुलाउन भने कसको आदेश पर्खेर बसेको हो खुल्न सकेको छैन ।
कुनै पनि व्यक्ति वा संस्थाले अधिकार क्षेत्र खोजी गर्दै गर्दा आफ्नो कर्तव्य पनि बिर्सनु हुँदैन । न्यूरोडमा खोजेको अधिकार क्षेत्र कमलादीमा आउँदा कहाँ गयो सडक विभागको ? एकतर्फी रहेको उक्त सडक अवरुद्ध हुँदा आम जनताले भोग्नु परेको सास्तीतर्फ विभागको कुनै ध्यान गएको छ ? कि बालेनकै कार्यालय नजिक भएकै कारणले अहिलेसम्म नजर नपुगेको हो?