मुद्दाको चाङमा हसिना, नरसंहारकै चार मुद्दा


काठमाडौं – बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ । नयाँ सरकार गठन भएदेखि अहिलेसम्म हसिनाविरुद्ध ३१ मुद्दा दर्ता भएका छन् । जसमा २६ हत्या, ४ नरसंहार र एक अपहरणका मुद्दा दर्ता भएका छन् ।

बंगलादेशको पत्रिका डेली स्टारका अनुसार हालसम्म हसिनाविरुद्ध न्यायाधिकरणमा चारवटा मुद्दा दर्ता भएका छन् । यी चार घटनामध्ये तीनवटा घटना पछिल्लो समय विद्यार्थी आन्दोलनमा भएको हिंसासँग सम्बन्धित छन् ।

मोहम्मद अबुल हसन नामका एक व्यक्तिले हसिनाविरुद्ध सोमबार नरसंहारको उजुरी दिएका थिए । अबुल हसनका छोरा शहरयार हसन अल्वी विद्यार्थी आन्दोलनका क्रममा मारिएका थिए । यसअघि कक्षा ९ का विद्यार्थी आरिफ अहमदका बुबाले पनि हसिनाविरुद्ध न्यायाधिकरणमा उजुरी दिएका थिए । आरिफलाई साउन ५ गते प्रदर्शनका क्रममा प्रहरीले गोली हानेको थियो । २ दिनपछि उनको मृत्यु भयो ।

न्यायाधिकरणका अधिकारी अताउर रहमानले उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

शेख हसिनाले सन् २०१० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) स्थापना गरेकी थिइन् । यो न्यायाधिकरण सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता आन्दोलनका क्रममा भएको हिंसाको छानबिन गर्न स्थापना गरिएको थियो ।

बंगलादेशको अन्तरिम सरकारले हसिना विरुद्ध परेका उजुरीहरूको सम्बन्धमा संयुक्त राष्ट्र संघको निगरानीमा छानबिन गर्ने बताएको छ । अन्तरिम सरकारका कानुनी सल्लाहकार प्रा. आसिफ नजरुलले शेख हसिनालाई कमाण्ड दिने जिम्मेवारी रहेको भन्दै विद्यार्थी आरक्षण आन्दोलनका क्रममा मृत्युमा उनको भूमिकाको छानबिन गरिने बताए ।

प्रतिक्रिया