कोहलपुर-सुर्खेत राजमार्गमा दुई वटा गाडी दुर्घटना हुँदा ३३ जना घाइते


सुर्खेत – कोहलपुर–सुर्खेत अन्तर्गत रत्न राजमार्गमा दुईवटा फोर्स गाडी दुर्घटना भएका छन् ।

सोमबार दिउँसो फरक–फरक समयमा ती गाडीहरू दुर्घटनामा परेका हुन् । दुई वटा गाडी दुर्घटनामा परी ३३ जना घाइते भएका प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरीका अनुसार लु१च ४०९१ नम्बरको एउटा फोर्स गाडी रत्न राजमार्ग (कोहलपुर–सुर्खेत) अन्तर्गत भेरीगंगा नगरपालिकाम–१२, को पाडुले भन्ने ठाउँमा सोमबार दिउँसो दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । कोहलपुरबाट सुर्खेत आउँदै गरेको उक्त गाडी दुर्घटना हुँदा घाइते भएका एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

यस्तै दिउँसो ३ः२० बजे भेरीगंगा नगरपालिका–५ एमाले मोड (बबइको छेउ) मा कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको अर्को फोर्स गाडी दुर्घटनामा परेको छ । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको उक्त गाडी अनियन्त्रित भएर सडक छेउको नालामा ठोक्किएको विश्वकर्माले बताए । उक्त गाडी दुर्घटनामा २१ जना घाइते भएका उनले बताए ।

एमाले मोडमा भएको दुर्घटनाका घाइतेहरूको बाँकेको कोहलपुर मेडिकल कलेज र पाडुलेको दुर्घटनामा घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया