

धरानमा खानेपानीको महसुल बढाउने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

इटहरी- धरानमा खानेपानीको महसुल वृद्धिविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । धरान १७ निवासी भीमबहादुर खड्काले दायर गरेको रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश विमल सुवेदी र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरेको हो ।
खड्काले गत साउन २४ गते बोर्डको महसुल वृद्धिको निर्णय कार्यान्वयन नगर्न, नगराउनको लागि अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । आइतबार दुवै पक्षको बहस सकेर उच्च अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।
यो आदेशसँगै खानेपानी बोर्डले वृद्धि गरेको महसुल कार्यान्वयन नहुने भएको छ । यससँगै खानेपानी बोर्डका अध्यक्षसमेत रहेका धरानका मेयर हर्क साम्पाङलाई थप दबाब परेको छ ।
गत साउन १ गतेबाट खानेपानीको महसुल वृद्धि गर्ने एकलौटी निर्णय गरिएको भन्दै धरानमा प्रदर्शन भइरहेकाे थियाे ।

