कोरिया जाने प्रक्रिया पूरा गरेका ८ हजार नेपाली अन्याेलमा


काठमाडौं – सरकारले पर्याप्त पहल नगर्दा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जाने प्रक्रिया पूरा गरेर बसेका ८ हजार नेपालीको कोटा नै गुम्ने खतरा बढेको छ ।

गत वर्ष फागुनमै कोरियाली भाषा परीक्षा पास गरेर बसेका ८ हजार नेपालीलाई कोरियाका विभिन्न कम्पनीले कामको स्वीकृत दिइसकेका थिए । तर, कोभिड–१९ पछि रोकिएका उनीहरू अहिलेसम्म पनि जान पाएका छैनन् । भाषा परीक्षा पास गरेका थप ४ हजार नेपालीको कोरिया जाने प्रक्रिया नै सुरु हुन पाएको छैन ।

रौतहटका सागर प्रसाईं अघिल्लो सालको फागुनमै छनोट प्रक्रिया पूरा गरेर कोरिया उड्न ठिक्क परेका थिए । तर, कोभिड–१९ का कारण उनी रोकिए । प्रसाईंको कोटा गत मंसिरमा रद्द भयो । ‘विगतमा रद्द भएर पुनः मार्चमा छनोटमा परेको छु, अझै जाने टुंगो छैन,’ प्रसाईंले भने ।

कोरिया भाषा पास र अन्य प्रक्रिया पूरा गर्न कम्तीमा ५ वर्षको मिहिनेत पर्ने बताउँदै अहिले जान नपाए आफ्नो सबै सपना गुम्ने चिन्ता प्रसाईंलाई छ । १३ महिनाको बीचमा १ हजार ५ सयभन्दा बढीको यसैगरी रद्द भएको छ । सरकारले पर्याप्त पहल नै नगरेको प्रसाईंको गुनासो छ  ।

यस्तै समस्या दाङका भीम ओलीको पनि छ । गत वर्ष कम्पनीले छनोट गरेर जान ठिक्क परेका ओलीको गत डिसेम्बरमा कम्पनीले माग नै रद्द गरिदियो । ‘पुनः प्रक्रिया सुरु गरेर मार्चमा छनोट भएको छु, तर जाने टुंगो छैन, फेरि गुम्छ कि भन्ने चिन्ता छ,’ ओलीले भने ।

सन् २०१९ मा भाषा परीक्षा पास गरेका १२ हजारमध्ये ८ हजारजना छनोटमा परेर जाने अन्तिम तयारीमा रहेका थिए । तर, अघिल्लो फागुनमा नेपाल सरकारले एकतर्फी रूपमा कामदार नपठाउने निर्णय गर्‍यो । त्यसको प्रतिउत्तरमा कोरिया सरकारले कूटनीतिक नोट नै पठायो ।

जिटुजीमार्फत भएको प्रक्रियामा एकतर्फी कामदार नपठाएको भन्दै रुष्ट कोरियाले अहिले पनि नेपालबाट कामदार लैजाने कुनै चासो दिएको छैन । नयाँपत्रिका दैनिक

प्रतिक्रिया