म्यान्मार हिंसा : तीन सय बढीको मृत्यु, ८ हजार घर छाडेर जंगलमा बास


काठमाडौं – म्यान्मारमा आफूले सत्ता कब्जा गर्नु (फेब्रुअरी १) अघि नै सेनाले देशको दक्षिण-पूर्वी दूरदराज क्षेत्रमा नागरिकलाई यातना दिन शुरु गरेको खुलेको छ । सहयोगी समूहले सार्वजनिक गरेको दाबीअनुसार सेनाको अत्याचार सहन नसकेर त्यस क्षेत्रमा बसोबास गर्ने कैरन समुदायका झण्डै ८ हजार मानिसले आफ्नो घर छाडेका छन् ।

सहयोगी समूहका अनुसार पछिल्लो १० वर्षयता यहाँ भएको सबैभन्दा ठूलो कारबाही हो । ती मानिस आफ्नो स्वास्थ्य र सुरक्षाको चिन्ताबीच जंगलमा बस्न बाध्य छन् । अहिलेसम्म गाउँ फर्किने कुनै आशा देखिएको छैन ।

सैनिक शासनविरुद्ध सडकमा विरोध प्रदर्शन भइरहेका बेला सीमावर्ती क्षेत्रको त्यो संकट सार्वजनिक हुन पाइरहेको छैन । कैरन समुदायको प्रमुख राजनीतिक संगठन ‘कैरन नेसनल युनियन (केएनयू) ले विस्थापित सबै मानिसलाई आश्रय, खाना, सुरक्षा जस्ता आधारभूत आवश्यकता पूर्ति गरिरहेको छ ।

केएनयूका विदेश विभाग प्रमुख प्याडो साले भनेका छन्, ‘आगामी दिनमा उनीहरूको चुनौती अझै बढ्न सक्छ । यसैले हामीले विश्व समुदाय समक्ष उनीहरूको उद्धारका निम्ति अपिल गरेका छौं ।’  म्यान्मारको सेनाले गत फेब्रुअरी १ देखि त्यहाँको शासन सत्ता आफ्नो हातमा लिएको छ भने आङ सान सुचीलगायत सबै लोकतान्त्रिक नेतलाई नजरबन्दमा राखिरहेको छ ।

जसको विरोधमा म्यान्मारी नागरिकले दैनिक विरोध प्रदर्शन गरिरहेका छन् । त्यस क्रममा सुरक्षाकर्मीको गोली र यातनाले तीन सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने कैयौं घाइते भएका छन् । एजेन्सी

प्रतिक्रिया