थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले पाए आममाफी


बैंकक – थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले आममाफी पाएका छन्।

राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौँ व्यक्तिमध्ये पूर्वप्रधानमन्त्री ७५ वर्षीय सिनावात्रा पनि एक हुन्।

थाक्सिन १५ वर्षको आत्मनिर्वासनपछि झण्डै एक वर्षअघि स्वदेश फर्केपछि भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो।

राजा वजिरालोङकोर्नले जुलाईको अन्त्यमा ७२ औँ जन्मदिन मनाएको करिब एक महिनापछि असल आचरण भएका कैदीलाई माफी दिएका हुन्।

राजा वजिरालोङकोर्नले उनको सजाय कटौती गरी एक वर्षमा सीमित गरिदिएका हुन्। उमेर र खराब स्वास्थ्यको कारण उनलाई आवश्यक परेको समय उपस्थित हुने शर्त (प्यारोल) मा रिहा गरिएको थियो।

थाक्सिनका वकिल चाटमोन्ट्रीले सरकारी राजपत्रमा आममाफीको घोषणा गरिएको र आममाफी पाउने हजारौँ व्यक्तिमध्ये दुईपटक प्रधानमन्त्री भइसकेका थाक्सिन पनि रहेको बताइएको छ। शनिबार प्रकाशित शाही राजपत्रमा भनिएको छ, ‘राजाले ती माफी पाएका सबैजनालाई आफूलाई सुधार्ने र देशलाई फाइदा पुर्‍याउने अवसर दिनुभएको छ।’

यसअघिको शाही आदेशअनुसार पूर्वप्रधानमन्त्री सिनावात्रा ३१ अगष्टमा रिहा हुनुपर्ने थियो।

थाई संसद्ले गत शुक्रबार थाक्सिनकी ३७ वर्षीया छोरी पाएटोङ्तार्न सिनावात्रालाई प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो।

 

प्रतिक्रिया