अध्ययनका लागि विज्ञसहितको टोली भोलि थामे जादै
काठमाडौं – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे खोलामा गएको बाढीबारे अध्ययन गर्न भोलि विज्ञसहितको टोली त्यसतर्फ जाने भएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनिकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलसहित विज्ञहरुको टोली त्यसतर्फ जान लागेको हो ।
टोलीले शुक्रबारै त्यसतर्फ जाने प्रयास गरेको थियो । तर, मौसमका कारण नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान नसकेको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए । उनका अनुसार, शनिबार बिहान टोली लिएर सैनिक हेलिकोप्टर त्यसतर्फ जाने तयारी छ ।
‘हिमपहिरो हो वा अन्य कुनै कारणले आएको हो भन्ने कुरा निर्क्यौल गर्न टोली जान लागेको हो’, प्राधिकरणका एक अधिकारीले भने । थामे खोलामा शुक्रबार दिउँसो आएको बाढीमा परेर केही घर, होटल र रिसोर्टहरु बगेका छन् भने नेपाली सेनाले ७ जनाको उद्दार गरेको छ ।