थामे बाढीः एक विद्यालयसहित १४ घर बगायो, एक जना बेपत्ता, सातको उद्धार


सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा थामेगाउँमा आएको बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेका सात जनाको उद्धार गरेको हो ।

प्रभावित क्षेत्रमा मानवीय क्षति भए/नभएकोबारे विवरण नआएको उनले जानकारी दिइन् । हिमताल फुटेर लेदोसहितको बाढी आएको अनुमान छ । आज दिउँसो आएको बाढीले एउटा विद्यालयसहित १४ वटा घर बगाएको पछिल्लो विवरण छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षा टोली खटाएको छ । दूधकोशी गाउँपालिकाअन्तर्गत दूधकोशी नदी तटीय क्षेत्रमा ठूलो बस्ती रहेको छ । बाढीमा एक स्थानीय बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताएका छन् । दिउँसोको घटना भएकाले अन्य थप मानवीय क्षति भने हुन पाएन ।

दुधकोशी नदीको तल्लो तटीय क्षेत्र अहिलेसम्म खतरामुक्त रहेको छ । थामेखोलको शिरमा रहेका हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए ।

थामेमा सञ्चार र विद्युत् सेवा प्रभावित बनेको छ । बाढीले दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिक त्रसित छन् ।

प्रतिक्रिया