

गठ्ठाघरमा यसरी किचेको रहेछ ट्रकले स्कुटरलाई, थिएन ‘स्पिड चेकिङ'[भिडियोसहित]

काठमाडौं- बिहीबार दिउँसो पौने २ बजेतिर भक्तपुरको गठ्ठाघरमा मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको चक्कामुनि परेर स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।
ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा स्कुटर चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेका थिए ।
ट्राफिक प्रहरीले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ । तर, प्रहरीले भने स्थानीयको आरोपलाई स्विकारिरहेको छैन । यसैबीच उक्त दुर्घटना भएकाे स्थानमा सीसीटिभी फूटेज बाहिरिएकाे छ । साे फूटेजमा ट्राफिक प्रहरीले ‘स्पिड चेकिङ’ नगरेकाे स्पष्ट देखिएकाे छ ।
दुर्घटनापछि बिहीबार दिनभर गठ्ठाघर तनावग्रस्त बनेको थियो। त्यहाँ प्रहरी र स्थानीयबीच झडप नै भएको थियो । त्यहाँ ११८ जना प्रहरी परिचालन गरिएको थियो । त्यसबाट पनि भिड नियन्त्रण हुन नसकेपछि विभिन्न जिल्लाहरूबाट थप ११३ जना प्रहरी १३० जना प्रहरी, १२० जना सशस्त्र प्रहरी खटाइएको थियो । प्रहरीबाट २२ राउन्ड अश्रुग्यास प्रहार भएको थियाे ।
दुर्घटनापछि ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका-२ का ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठ पक्राउ परेका थिए ।

