

यी हुन् गठ्ठाघर स्कुटर दुर्घटनाका मृतक

काठमाडौं- बिहीबार दिउँसो पौने २ बजेतिर भक्तपुरको गठ्ठाघरमा मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको चक्कामुनि परेर स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।
ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ । तर, प्रहरीले भने स्थानीयको आरोपलाई स्विकारिरहेको छैन ।
ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घटनापछि प्रहरीले सुरुमा दोलखाको मेलुङ–४ की २३ वर्षीय सुस्मा नेपालीको मृत्यु भएको भनेर बताएको थियो । तर पछि उक्त नाम गरेकी युवती सकुशल भेटिएपछि प्रहरीले अन्दाजी २०-२५ वर्षका पुरुषको मृत्यु भएको बतायो ।
पुनः प्रहरीले उक्त सनाखत पनि गलत भएको बताएको थियो । तर, कागजपत्रले उक्त घटनाका वास्तविक मृतकको पहिचान भइसकेको जानकारी प्राप्त गरेको छ ।
उक्त घटनामा कपन बस्ने अन्दाजी ५० वर्षीय उत्तम कोइरालाको मृत्यु भएको परिवारले पुष्टि गरेको छ । परिवारले शवको सनाखत गरिसकेको छ । अहिले शव शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइसकेको छ ।

