

कृषिमा वैदेशिक लगानी साना किसान संरक्षणका लागी : कृषिमन्त्री अर्याल

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडीआई’ आवश्यक रहेको बताएकी छन् ।
खाद्यका लागि कृषि अभियानले सोमबार ललितपुरमा आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । नेपालले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र विदेशी लगानी लागु गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
सरकारले साना किसानलाई मार्नेगरी विदेशी लगानी भित्र्याएको नभएर उनीहरूको संरक्षण गर्न ल्याएको मन्त्री अर्यालको भनाइ थियो । कृषिमा विदेशी लगानी बारेमा चिन्ता गर्नु राम्रो भए पनि धेरै आशंका गरेर कृषि क्षेत्रको विकास रोक्नु गलत भएको उनको भनाइ थियो ।

