ग्रीन कार्डको लोभ देखाएर महिलालाई मौरिससमा बेच्ने समातिए


काठमाडौं-  ग्रिनकार्डको प्रलोभन देखाएर मौरिसस पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपाने छन् । मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीलेउनलाई सोमबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो ।

उनले एक जना महिलालाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाइ हुने कुकको काममा लगाइदिने भनेर प्रलोभनमा पारेका थिए । केही समय काम गरेपछि ग्रिन कार्ड समेत पाइने प्रलोभनमा पारेपछि ती महिला मौरिसस जान तयार भएकी थिइन्।

महिलाले बुद्धिराज न्यौपानेलाई २ लाख ५० हजार रुपैयाँ बुझाएकी थिइन् । ती महिलालाई नेपालबाट भारतको दिल्ली हुँदै १३ माघ २०८० मा मौरिसस पुर्‍याएका थिए ।

मौरिससस्थित एअरपोर्टमा ती महिलालाई एक मौरिसस नागरिकले रिसिभ गरेका थिए । मौरिसस नागरिकले भने नेपाली महिलालाई न्यौपानेमार्फत आफूले खरिद गरेको भन्दै दैनिक १८ घण्टासम्म काममा लगाउने र चरम यौन र श्रमशोषण गरेको आरोप छ ।

केही समयपछि पीडित महिला त्यहाँबाट भागेर पोर्चुगल पुगेकी थिइन्। त्यहाँ रहेका नेपाली नागरिकहरूको सहयोगमा उनी असार २० गते नेपाल फर्किएर ब्युरोमा जाहेरी दिएकी थिइन्।

जाहेरी परेपछि ब्युरोले बुद्धिराजलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया