सिमलतालमा दुर्घटना परेको एञ्जल यातायातका यात्रुको नाममा बनाइयो स्मृति स्तम्भ


काठमाडौँ – दुई वटा बसलाई लेदोसहितको पहिरोले बगाएको सिमलतालमा हराइरहेका यात्रुहरूको स्मृतिमा स्तम्भ बनाइएको छ ।

एञ्जल बसका चालक तथा यात्रुहरूको नामसहित दुर्घटनास्थल सिमलतालमा स्मृति स्तम्भ बनाइएको हो । जसमा वीरगञ्जबाट काठमाडौँ जान आएका एञ्जल डिलक्स बसमा यात्रा गरेका २६ जनाको नाम उल्लेख गरिएको छ ।

असार २८ गते लेदोसहित आएको पहिरोले भरतपुर २९, सिमलतामा सडकबाट दुई वटा बस एञ्जल डिलक्स र गणपति यातायातको बसलाई एकै पटक त्रिशूलीमा खसाएको थियो । तर, स्तम्भमा भने एञ्जल डिलक्समा रहेका यात्रुहरूको मात्रै नाम उल्लेख गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कसले स्मृति स्तम्भ बनाएको भन्ने जानकारी नभएको बताए ।

दुवै बसमा गरी ६५ जना यात्रु रहेका थिए । तीन जनाले भने पौडिएर ज्यान जोगाएका थिए । बाँकी ६२ जना बससँगै हराएका थिए । उनीहरूमध्ये अहिलेसम्म १९ जनाको मात्रै शव पहिचान भएको छ । बाँकी शव तथा बसको खोजीको लागि नेपालका र भारतबाट समेत खोज तथा उद्धार टोलीले खोजी गरे पनि भेटिएको छैन ।

त्रिशूलीमा हराएका तथा मृत पहिचान भएका सबै जनालाई दुई लाख रुपियाँको दरले सरकारले राहत दिइसकेको छ । दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सडकभन्दा माथि खनिएको ग्रामीण सडकको कारणले लेदोसहितको पहिरो आएर गाडी बगाएको मूल कारण देखाएर प्रतिवेदन पनि सरकारलाई बुझाइसकेको छ ।

पहिरोले बगाएको मध्ये एञ्जल यातायात वीरगञ्जबाट काठमाडौँ र गणपति यातायात काठमाडौँबाट गौरतर्फ जाँदै थिए ।

प्रतिक्रिया