प्रचण्ड राजनीतिः ‘विदेशीले पालेका एजेन्ट ओली’लाई प्रधानमन्त्रीमा विश्वासको मत!


काठमाडौं– आइतबार एउटा कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशीले बर्षौंदेखि पालित पोषित गरेको भनी आरोप लगाएका थिए।

उनको उक्त अभिव्यक्ति अहिले विवादमा परेको छ। प्रचण्डको यस्तो राजनीतिको केही विश्लेषकदेखि राजनीतिज्ञले पनि आलोचना गरेका छन्।

राजनीतिक टिप्पणीकार मुमाराम खनाल लेख्छन्,‘पटक–पटक मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तिले हिजोसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशका प्रधानमन्त्रीलाई बर्षौदेखि विदेशीबाट पालित–पोषित एजेन्ट भन्न सक्छ। र, उसैले नैतिकताको आधारमा ओलीले राजीनामा गर्नुपर्छ पनि भन्न सक्छ। नेताहरू त पाएकै हो– नेपालले।’

सरकारमा प्रधानमन्त्री ओलीलाई दिएको विश्वासको मत माओवादीले फिर्ता लिइसकेको छैन। एमालेभित्रको माधवकुमार नेपाल खेमाको निर्णयलाई पर्खिएर बसेका प्रचण्डले किन विश्वासको मत फिर्ता लिएनन् र संगीन आरोप समेत लगाइदिए? यसबारे उनको अन्यले पनि आलोचना गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा लेख्छन्,‘दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी ओलीलाई ‘बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ। यस्तो गम्भीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने! लाजमर्दो राजनीति।’

प्रतिक्रिया