बागलुङ बडिगाड पहिरो : २१ घण्टापछि उद्धारका लागि घटनास्थल पुग्यो हेलिकोप्टर


बागलुङ- मङ्गलबार बिहान बागलुङको बडिगाड गाउँपालिका १० आरुपाटामा गएको पहिरोमा परेर घाइते भएकाहरुको उद्धारका लागि करिब २१ घण्टापछि हेलिकोप्टर घटनास्थल नजिक अवतरण गरिएको छ । दुईजना चिकित्सक र केही प्रहरीसहित नेपाली सेनाको हेलिकोप्टर बडिगाडतर्फ गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

मङ्गलबार खराब मौसमका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्किएको थियो । पहिरोका कारण सडक अवरुद्ध हुँदा घाइतेहरुलाई अस्पतालसम्म लैजान कठिन भएको थियो । बुधबार बिहान हेलिकोप्टर ९ नम्बर वडाको जनता आधारभूत विद्यालय नजिक अवतरण भएको वडाध्यक्ष विरेन्द्रकुमार बुढामगरले जानकारी दिए ।

मङ्गलबार बिहान पहिरोमा परेर वडा नम्बर १० मा ६ र ९ मा दुईजनाको मृत्यु भएको थियो ।  पहिरोमा परेर बेपत्ता भएका चारजनाको खोजी कार्य विहानैदेखि थालिएको वडाध्यक्ष बुढामगरले बताए । उनका अनुसार १० जना घाइते भएकामा केहीलाई उद्धार गरेर उपचारका लागि बुर्तिबाङ पठाइएको छ ।

पहिरोमा परेर गम्भिर घाइते भएका आरुपाटाका ७८ वर्षीय जोगबहादुर बुढाको समयमै उपचार नपाउँदा मङ्गलबार साँझ मृत्यु भएको वडाध्यक्ष बुढामगरले जानकारी दिए ।

सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण मङ्गलबार बिहान ११ः३० बजेको समयमा मृतक जोगबहादुरको घरमाथिको पाखोबाट खसेको पहिरोले घर र गोठ पुरिएको थियो ।

प्रतिक्रिया