भारतमा धार्मिक कार्यक्रममा पर्खाल भत्किँदा ९ बालबालिकाको मृत्यु


नयाँदिल्ली- भारतको मध्य प्रदेश राज्यमा एक धार्मिक कार्यक्रमका क्रममा पर्खाल भत्किँदा कम्तीमा ९ बालबालिकाको मृत्यु भएकाे छ । सागर जिल्लाको शाहपुर गाउँमा पर्खाल भत्किदा भएकाे साे घटनामा  अन्य कैयौँ घाइते भएका छन् ।

“आइतबार शाहपुरको हरदौल बाबा मन्दिर नजिकै भएको दुःखद घटनामा १० देखि १५ वर्ष उमेर समूहका नौ बालबालिकाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । मन्दिरको छेउमा रहेको घरको भित्ता ढल्दा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि मानिसहरू मन्दिरमा जम्मा भएका थिए,” एक प्रहरी अधिकारीले भने । पचास वर्ष पुरानो र जीर्ण घर बर्खायाममा भारी वर्षाका कारण भत्किएको उनले बताए ।

घटना लगत्तै उद्धार र भग्नावशेषमुनिबाट मृतकलाई निकाल्न प्रकोप प्रतिकार्य बलका जवानहरू र प्रहरी टोलीहरू घटनास्थलमा पठाइएको अधिकारीहरूले जनाएका छन् । घाइते बालबालिकालाई उपचारका लागि अस्पताल लगिएको छ ।

त्यसैगरी, शनिबार भएको राज्यको रीवा जिल्लामा एक अर्को घरको पर्खाल भत्किँदा चार बालबालिकाको मृत्यु भएको छ । पाँचदेखि सात वर्ष उमेर समूहका ती बालबालिका विद्यालयबाट फर्कंदै गर्दा पर्खाल भत्किएको थियो ।

प्रतिक्रिया