डडेल्धुरा घर भएका पूर्वमन्त्री भट्टको निधन


डडेल्धुरा- डडेल्धुराको अजयमेरू गाउँपालिका वडा नम्बर २ मटेल घर भएका पूर्व सहायक मन्त्री गणेशप्रसाद भट्टको निधन भएको छ ।

८३ वर्षीय भट्टको काठमाडौंको बुढानिलकण्ठमा रहेको आफ्नै निवासमा शुक्रवार निधन भएको हो । भट्टको आज शनिवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले बताएको छ ।

बुवा धनिराम भट्ट र आमा राधादेवी भट्टको कोखबाट  १९९८ सालमा जन्मेका भट्टले बिएसी सम्मको अध्ययन गरी पञ्चायतको राजनीतिमा लागेका थिए ।

२०३८ देखि २०४२ सम्म जिल्ला पञ्चायत डडेल्धुराको सभापति भएका भट्ट  डडेल्धुराबाट २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । राष्ट्रिय पञ्चायत सदस्य हुँदा सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष भएर झापालगायत पूर्वी तराईमा बसोबासको काम सफलता पूर्वक सम्पन्न गरेका थिए ।

२०४४ सालमा वन सहायक मन्त्री भएका भट्टको कार्यकालमा नेपाल टर्पन टायल कम्पनी स्थापना भएको थियो । राजनैतिक परिवर्तन पश्चात् २०४८ र २०५६ मा डडेल्धुराबाट राप्रपाबाट प्रतिनिधि सभामा निर्वाचनमा उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया