

हेटौंडा उपमहानगरमा करमा व्यापक वृद्धि

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले १५औं नगर सभाबाट करका दरमा वृद्धि गरेको पाइएको छ ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को लागि बहाल करदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म वृद्धि गरेको पाइएको हो ।
साउन लागेपछि कर तिर्न आउँदा सेवाग्राहीले नयाँ करका दर रहेको थाहा पाएपछि वृद्धिको विषय बाहिर आएको हो । जानकारी नै नदिइ करका दर वृद्धि भएको विषयमा व्यवसायिक संघसंस्था आन्दोलित बनेका छन् । नगर सभाबाट गुपचुपमै कर बढाइएको उनीहरूको आरोप छ ।
मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ मकवानपुर लगायतका संघसंस्था आन्दोलित छन् । उद्योग वाणिज्य संघले शुक्रबार नगर उपप्रमुख राजेश बानियाँलाई भेटेर कर वृद्धिको निर्णय सच्याउन अनुरोध गरेको छ ।
के मा कति कर वृद्धि ?
७ असार २०८१ मा सम्पन्न १५ औं नगर सभाबाट ६ वटा समूहमा विभाजन गरिएको वहालकर ५० प्रतिशतसम्म वृद्धि गरिएको छ ।
‘ए’ देखि ‘एफ’ समूहसम्मका करदातालाई क्रमशः ७ हजारबाट १० हजार, ६ हजारबाट ८ हजार ५ सय, ५ हजारबाट ६ हजार ५ सय तथा ४, ३ र २ हजार कर रहेकालाई थप एक हजारका दरले करमा वृद्धि गरिएको कार्यालयले जनाएको छ ।
यसैगरी, उपमहानगरपालिकाले थोक बिक्रेतातर्फ ५० प्रतिशत, ‘क’ वर्गको थोक तथा खुद्रा बिक्रेता र कोल्ड ड्रिंग्स तथा बेकरीमा १ सय प्रतिशतले राजश्व वृद्धि गरेको छ ।
सुनचाँदी गरगहनातर्फ ठूला बिक्रेताको हकमा ६६ प्रतिशत र ज्याला लिई सुनचाँदीको काम गर्नेको हकमा ५० प्रतिशतले कर बढाएको हो ।
श्रृंगार, खेलौना र उपहार बिक्रेतालाई १ सय प्रतिशत, मोटरसाइकल ममर्तमा १ सय, हेभी सवारीसाधन बिक्रेतालाई ५० प्रतिशत, स्टेशनरीमा २० प्रतिशत, कृषि तथा भेटनरीमा ६०, कम्प्युटर, मोबाइल तथा फोटोकपी मर्मतमा १ सय प्रतिशतसम्म कर वृद्धि गरिएको हो ।
ड्राइक्लिनर्सलाई १ सय ३३ प्रतिशत र सुपरमार्केटलाई १ सय ५० र मार्टलाई ८७ प्रतिशतसम्म कर वृद्धि गरिएको जनाइएको छ ।

