नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने


काठमाडौं – नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ । आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पुर्‍याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ ।

नर्सिङ शिक्षाको दायरा फराकिलो बनाउने विषयमा अध्ययन गर्न गत वर्ष आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा. सरला केसीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो ।

कार्यदलले नर्सिङ पढाइसम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासबारे पनि अध्ययन गरेको थियो । आयोगका सदस्यसचिव काप्रीले भने, ‘धेरै विदेशी मुलुकमा कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङको पढाइ हुने गरेको अध्ययनबाट देखिएको छ । नेपालमा पनि सोही व्यवस्था लागु गर्नु पर्छ भन्ने कोणबाट आयोगले आवश्यक गृहकार्य गरिरहेको छ ।’

केसी संयोजक रहेको कार्यदलले दिएको प्रतिवेदनलाई आयोगले गत चैत ९ गते पारित गरेको थियो । सोही प्रतिवेदन पारित गरेपछि मापदण्ड निर्माण अघि बढाइएको काप्रीले जानकारी दिए । उनका अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएमा १२ कक्षापछि तीन वर्षको नर्सिङ विषयको पढाइ हुन्छ । नयाँ व्यवस्था अनुसार जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले पनि नर्सिङ पढ्न पाउने छन् । “तर तीनवर्षे नर्सिङ पढेपछि रोजगारीमा कुन हैसियतमा जाने ? यसलाई लोक सेवा आयोगले मान्यता दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको छ,” काप्रीले भने, “नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्डले यी सबै विषयलाई स्पष्ट पार्ने छ । त्यसपछि आयोगको बैठकले पारित गरेपछि मात्रै कार्यान्वयन चरणमा जान्छ ।” अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नेले नर्सिङ पढ्न पाउने व्यवस्था छ । प्रमाणपत्र तहमा नर्सिङ उत्तीर्ण गर्नेले ब्याचलर अफ नर्सिङ (बिएन) अध्ययन गर्ने बाटो खुल्छ भन्दै गोरखापत्रले समाचार छापेको छ ।

 

प्रतिक्रिया