७ दिनभित्र सेवा चुस्त दुरुस्त बनाउन विमानस्थल प्रशासनलाई मन्त्री ढकालको निर्देशन


काठमाडौँँ – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ७ दिनभित्र सम्पूर्ण कमीकमजोरीलाई सुधार गरी विमानस्थलका हरेक कार्य चुस्त दुरुस्त बनाउन त्रिभुवन विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आइतबार आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरी व्यवस्थापनलाई यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री ढकालले विमानस्थल भित्रका पुर्वाधार निर्माण, मर्मत लगायत कुराले यात्रुहरुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती भएको, उनीहरुले प्रभावकारी सेवा पाउन नसकेकाले सेवा चुस्त दुरुस्त बनाएको अनुभव यात्रुलाई गराउन निर्देशन दिए ।

मन्त्री ढकालले विभिन्न किसिमका सम्झौता सहमति कार्यान्वयन भए नभएको सम्बन्धमा पनि सचेत हुनुपर्ने बताए । विमानस्थल भित्रको निर्माणको कामले गर्दा कतिपय असहजता थपेकाले सेवाग्राहीलाई प्रतिकूल असर नपर्ने गरी विमानस्थलका कामकारवाही गराउन पनि निर्देशन दिए ।

आकस्मिक रुपमा मन्त्रालयको छड्के निरीक्षण विमानस्थलमा यसअघि पनि हुने गरेका थिए । अर्को हप्ता पुनः निरीक्षण गर्न आउने पनि मन्त्री ढकालले बताएका छन् ।

प्रतिक्रिया