प्रभु बैंकमा ‘फिक्स्ड डिपोजिट’ राखिएको सवा करोड गायब !


झापा — प्रभु बैंकमा फिक्स्ड डिपोजिट गरिएको रकम ‘हराएको’ छ । गत माघ ३ गते टीकाराम नेपालले श्रीमती मन्जु कुमारी नेपालका नाममा प्रभु बैंकको स्थानीय शाखामा ६ महिनाका लागि ‘फिक्स डिपोजिट’ गरेको रकम ‘गायब’ भएको हो ।

मुद्दती खातामा रकम राखेको प्रमाण लिएर छोरा–बुहारी भेट्न अमेरिका उडेका उनीहरु मुद्दतीको समय पूरा हुन लाग्दा बैंक गएर पैसा झिक्न पुग्दा बैंकमा रकम नरहेको जानकारी पाए । नेपालले १ करोड १० लाख ४३ हजार रुपैयाँ फिक्स्ड् डिपोजिट गरेकोमा जम्मा २ लाख मात्र रहेको बताए ।

बैंकका मार्केटिङ म्यानेजर भद्रपुर निवासी प्रमोद सिटौलाले अपचलन गरेको बैंकले जनाएको छ । बैंकका कर्मचारीकै मिलेमतोमा सिटौलाले रकम गायब पारेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । टीकारामले फरार सिटौलाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन् ।

सिटौला बुधबार बिहान बिर्तामोडस्थित द मम फ्याक्टरीबाट झोला छाडेर सम्पर्कविहीन भएका छन् । उनको फेसबुक अहिले डिएक्टिभ रहेको र फोन अफ रहेको छ ।

सिटौलाले नेपालसँगको भेटमा आफ्नो जागिरको विषय भएको जनाउँदै उजुरी नगरिदिन अनुरोध गर्दै पैसा फिर्ता गरिदिने जनाएका थिए । तर, उनीहरु खाना खान लाग्दा औषधी किन्ने बहाना गरेर उक्त होटलबाट फरार भएका हुन् ।

प्रहरीले सिटौलाको झोला खानतलासी गर्दा विभिन्न व्यक्तिको नामको चेकमा किर्ते हस्ताक्षर गरेर रकम झिक्न खोजिएका दर्जनौं चेक, एटीएम कार्ड, बैंक भौचर फेला परेको छ ।

बैंकका म्यानेजर गणेशबहादुर बरालले बैंकबाटै सवा करोड गायब भएको घटना मुख्यालयमा जानकारी गराइएको र बिहीबार केन्द्रबाट छानबिन टोली आउने जनाए ।

प्रतिक्रिया