नेपाल-भारत जोड्ने मोटरेवल पुलको पूर्वमन्त्री बडूद्वारा स्थलगत अवलोकन


दार्चुला – दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलामा निर्माण भइरहेको नेपाल-भारत जोड्ने मोटरेवल पुलको अवलोकन गरेका छन् । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको छारछुम जोड्ने मोटरेवल पुलको मंगलबार बिहान पूर्वमन्त्री बडूले स्थलगत अवलोकन गरेका हुन् ।

निर्माणाधिन पुलको पछिल्लो अवस्था र कार्यप्रगतिको बारेमा पूर्वमन्त्री बडूले कार्य क्षेत्रमा पुगेर अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । स्थलगत अनुगमनका क्रममा पूर्वमन्त्री बडूले पुल निर्माण कम्पनीका ईन्जिनियर नरेन्द्र शर्मासँग छलफल गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । पुल निर्माण कम्पनीका ईन्जिनियर शर्माले पुल निर्माणको सम्पूर्ण काम अक्टोवर महिनासम्म सकिने जानकारी गराएको बडूका नीजी सचीव रुपेश बिष्टले बताए ।

भारतीय पक्षले निर्माण दार्चुलाको असिगडा र भारतको छारछुम जोड्ने गरी १ सय १० मिटर लम्बाइको मोटरेवल पुल निर्माण गरिरहेको छ । जुन अहिले निर्माणको अन्तिम चरणमा रहेको छ । उक्त मोटरेवल पुलको २०७९ असोज ३ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहेका बेला बडू र भारतकोतर्फबाट उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

भारतीय कम्पनी पी एण्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाले निर्माण गरिरहेको उक्त पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपैयाँ रहेको छ । जिल्लामै पहिलो पटक नेपाल-भारत जोड्ने मोटरेवल पुल बन्ने भएपछि स्थानीयबासी खुसी छन् । यसले दुई देशबीचको सम्बन्धका साथै व्यापारीक, पर्यटकीय र साँस्कृतिक पक्षमा टेवा पुगाउने विश्वास लिइएको छ ।

पुल अवलोकनमा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूसँगै जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, मालपोत/भन्सार कार्यालयका प्रमुख र पुल निर्माण कम्पनीका ईन्जिनियरलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया