

आईसीसीले अनुमति नदिएसम्म अलराउन्डर आदिलले क्रिकेट खेल्न नपाउने

काठमाडौं– अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले अनुमति नदिएसम्म पूर्व राष्ट्रिय क्रिकेटर अलराउन्डर आदिल अन्सारीले क्रिकेट खेल्न नपाउने भएका छन् ।
अनुमति नदिएसम्म आईसीसी र क्यानले आयोजना गर्ने प्रतियोगिता उनले खेल्न नपाउने भएका हुन् ।
म्याच फिक्सिङ प्रकरणमा आदिलविरुद्धको उजुरी आईसीसीको एन्टी करप्सन युनिटमा समेत परेको थियो ।
क्यानले निलम्बन फुकुवा गरेपनि आईसीसीले खेल खेल्न दिने वा नदिनेबारे अनुमति दिनुपर्ने हुन्छ ।
पूर्व राष्ट्रिय क्रिकेटर अलराउन्डर आदिल अन्सारीलाई नेपाल क्रिकेट संघ क्यानको अनुशासन समितिले भने उनलाई सफाई दिनका लागि आवश्यक प्रक्रिया अगाडी बढाइसकेको छ । यसका लागि उनलाई स्पष्टिकरणका लागि पत्र पठाएको छ ।
स्पट फिक्सिङमाको अभियोगमा सफाइ पाएका अन्सारीमाथिको निलम्बन फुकुवा सम्बन्धी अध्ययन गरिरहेको अनुशासन समितिले स्पष्टिकरणका लागि पत्र पठाएको हो ।
तर अन्सारीले एकसातासम्म पनि पत्रको जवाफ फर्काएका छैनन् ।
क्यानको बोर्ड सदस्य तथा अनुशासन समितिका संयोजक सुदीप शर्माले पत्रको जवाफ आएपछि के गर्ने भन्नेबारे छलफल हुने बताए ।
आदिलले राष्ट्रिय टोलीमा डेब्यु गर्दा लामो समयसम्म नेपाली क्रिकेटमा योगदान गर्नसक्ने खेलाडीका रुपमा हेरिएको थियो ।
आदिलसहित ५ जनालाई काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो ।
पछि सबैलाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको थियो ।
उनले नेपालबाट सन् २०२२ मा अमेरिकाविरुद्धको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
पहिलो खेलमै उनले २४ बलमा ३६ रन प्रहार गरेका थिए भने ३ विकेट समेत लिएका थिए ।
उनले नेपालका लागि ६ एकदिवसीय र ८ टि–२० अन्तराष्ट्रिय खेल खेलेका छन् । जसमा उनले एकदिवसीयमा ५ र टि–ट्वान्टीमा ६ विकेट लिएका छन् ।

