अख्तियार र महालेखाको विशेष निगरानीमा शैल्यशिखर, अख्तियारको टोली कार्यायलमै घुस्यो
काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली दार्चुलाको शैल्यशिखर नगरपालिकामा पुगेको छ ।
स्रोतका अनुसार टोली आज बिहानमात्रै शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर पुगेको हो । बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा केही समयको भेटघाटपछि टोली अहिले नगरपालिकाको कार्यालयमा पुगेको छ ।
नगरपालिकाको कार्यालयमा टोलीले अख्तियारमा परेका मुद्दा र केही दिन अगाडि घुस रकमसहित समातिएका कृषि प्राविधिकहरूको बयान अनुसारका प्रमाण संकलन गरिरहेको छ । टोली अहिले पालिकाको लेखा शाखामा आवश्यक कागजपत्रको संकलन गरिरहेको छ ।
शैल्यशिखरमा ठूलै आर्थिक चलखेल भएको भन्दै अख्तियारमा पटक-पटक निवेदन आउन थालेपछि अख्तियारले विशेष निगरानी राखेको स्रोतले बताएको छ ।
यस्तै, पटक-पटक अनियमितताका समाचार बाहिरिएपछि महालेखा परीक्षकको कार्यालयले समेत शैल्यशिखरलाई विशेष निगरानीमा राखेको महालेखास्रोतले कागजपत्रलाई जानकारी दिएको छ ।