भीमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना


काठमाडौँ – दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका सदस्य राजेन्द्र श्रेष्ठका अनुसार आज दिउँसो १: ४० बजे देखि ‘पसिना’ आउन थालेको हो ।

शिलाको बाँयाबाट ‘पसिना’ निरन्तर आइरहेपछि स्थानीयसहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजासहित घण्टा बजाउने, धुपबत्ती गर्दै मन्दिरका मुख्य व्यक्तिहरुले शिलामा पंखाले हम्किने गरेका छन् ।

भीमेश्वरको शिला (चट्टान) मा कालो पानीको थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको भन्ने जनविश्वास छ । शिलामा ‘पसिना’ पुछेको कपास लिनेको ठूलो भीड मन्दिरमा लागेको छ । मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीय र मन्दिर व्यवस्थापन समितिलाई बोलाएका थिए ।

‘पसिना’ आएको खबर लगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना लगायतका प्रमुख तथा प्रतिनिधि मन्दिरमा पुगेका थिए । भीमेश्वरको शिलामा पसिना आएमा परिवर्तनको संकेतका रुपमा लिन जनविश्वास रहेको छ । शिलामा ‘पसिना’ आएकाले राष्ट्र प्रमुखले क्षमापूजा गर्ने चलन छ । जसका लागि राष्ट्रपतिबाट हुने क्षमापूजाका विषयमा छलफल भइरहेको बताइएको छ ।

राजाको शासनकालमा राजपरिवारबाट क्षमापूजा गर्ने चलन थियो हाल राष्ट्रपतिबाट पूजा गरिँदै आएको छ । विक्रम संवत् १९९०, २००७, २०२८ र २०७० र २०७७ सालमा पनि भीमेश्वरको शिलामा ‘पसिना’ आएको थियो ।

 

 

प्रतिक्रिया