न्यूरोडमा मेयर बालेनको पुत्ला दहन


काठमाडौं – काठमाडौं महानगरका प्रमुख बालेन शाहको आज साँझ पुत्ला दहन गरिएको छ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवादपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन् ।

आज उनीहरूले दिनभर न्यूरोड क्षेत्रमा प्रदर्शन पनि गरेका थिए ।  दिनभर न्यूरोडमा तनाव भईरहँदा संघीय सरकारले नजरअन्दाज गरेको महानगरले जनाएको छ । संघीय सरकारले सुरक्षामा समेत ख्याल नगरेको मेयर सचिवालयले जनाएको छ ।

आवश्यकताभन्दा निकै कम प्रहरी पठाएर सरकारले असहयोग गरेको सचिवालयका एक सदस्यले बताए ।महानगरपालिका–२२ का वडाध्यक्ष चिनकाजी श्रेष्ठको नेतृत्वमा न्युरोडको फुटपाथ निर्माण कार्यमा अवरोध भएको महानगरको आरोप छ ।

फुटपाथ सडकलाई पैदलयात्रीमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो ।

तर,जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रूपमा हस्तक्षेप गर्‍यो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो । डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाले माग गरे बमोजिमको अन्तरिम आदेश दिएपछि उक्त निर्माण कार्य सुचारु भएको थियो । त्यसविरुद्ध आज आन्दोलन भएको थियो ।

प्रतिक्रिया