घनघस्याको उकालो काट्दै बिरामी बोकेर लग्दा…


काठमाडाैं- विस २०२४ सालमा तारानाथ शर्माले आफ्नो नियात्रा संग्रहमा ‘घनघस्याको उकालो काट्दा’ समेटका थिए । उनले बैतडीको झुलाघाटदेखि सतबाँझ र पाटन हुँदै डडेल्धुरासम्मको कथा ‘घनघस्याको उकालो काट्दा’ मा समेटेका छन् । स्वर्गिय शर्माले पाटनदेखि डडेल्धुरा पुग्दासम्म आफुले चढेको उकालाको बयान सो कृतिमा गरेका थिए ।

उनले लेखेको दशकौं वित्दा पनि त्यहाँका स्थानीयको नियति भने फेरिएको छैन । बैतडीको पाटन नगरपालिका–२ बिनोडाका स्थानीय उपचारका लागि डडेल्धुरा आउनुपर्ने बाध्यता रहेको छ । जसका लागि उनीहरु डडेल्धुराको अजयमेरु गाउँपालिका–२ खतेडा पुग्नुपर्ने हुन्छ । पाटनतर्फ सडक सञ्जाल नजोडिएकाले स्थानीय अजयमेरुबाट डडेल्धुरा आउजाउ गर्छन् ।

शुक्रबार पनि बिनोडाकी एक ६५ वर्षीया वृद्धालाई स्थानीयले स्ट्रेचरमा बोकेर अजयमेरुसम्म पुर्याएका छन् । करिब २ घण्टा बिरामीलाई बोकेर खतेडासम्म पुगाएको स्थानीय हेमन्त ऐरले बताए । ‘बिनोडाभन्दा अलि परसम्म अजयमेरुबाट आउने सडक सञ्चालनमा रहेको छ । तर, बर्सातको मौसम भएकाले सडक अवरुद्ध हुँदा २ घण्टा बोकेपछि गाडीसम्म पुगाएका हौं’ उनले भने, ‘त्यहाँ हाम्रो गाउँका लागि भनेर विद्युतको ट्रान्सफर्मर बोकेर गाडी आएको थियो । त्यसैमा बिरामीलाई डडेल्धुरा अस्पताल पठायौं ।’

पाटनबाट गाउँसम्म सडक सञ्जाल जोडिए सहज हुने स्थानीयले अपेक्षा गरेका छन् । यस विषयमा पाटन नगरपालिकाका उपमेयर कमल बोहराले बिनोडासम्म सडक सञ्जाल पुगाउने लक्ष्य रहेको बताए । ‘अजयमेरुबाट कच्ची सडक छ । पाटनतर्फबाट भने बिनोडाभन्दा ३ किलोमिटर वरसम्म सडक पुगेको छ’ उनले भने ।

 

 

प्रतिक्रिया