त्रिशुलीमा बेपत्तामध्ये २० जनाको शव भेटियो, बङ्लादेशबाट गोताखोर ल्याउने तयारी
काठमाडौं– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका यात्रुमध्ये २० जनाको शव फेला परेको छ ।
जसमा २ महिला र १८ पुरुष छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार १४ शवको सनाखत भएको छ भने ६ जनाको सनाखत हुन सकेको छैन् ।
रिजालका अनुसार अन्यको खोजी कार्य निरन्तर जारी छ । बसको कुनै संकेत अझै फेला परेको छैन् ।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जस मध्ये तीन जनाले ज्यान बचाउन सफल भएका थिए ।
यस्तै गृहमन्त्रालयले गठन गरेको अध्ययन कार्यदल घटनास्थल पुगेको छ । टोलीले बङ्लादेशबाट गोताखोर ल्याउने गृहकार्य अगाडी बढेको समेत जानकारी गराएको छ ।