जम्मु-कश्मिरमा भिडन्त, क्याप्टेनसहित ४ भारतीय सैनिक शहिद


नयाँदिल्ली- जम्मु-कश्मिरकाे डोडास्थित डेसा जंगलमा भएको भिडन्तमा क्याप्टेनसहित ४ भारतीय सैनिक शहिद भएका छन् ।

सेनाका जवानले चरमपन्थीहरूलाई जंगलमा घेरेर राखेको अवस्थामा भिडन्त भएको हो । चरमपन्थीहरूले आफूलाई बचाउन गोली चलाउँदा सेनातर्फ हताहती भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसक्रममा भारतीय सेनाका जवानले पनि जवाफी फायरिङ गरेका थिए । उक्त भिडन्तका क्रममा एकजना क्याप्टेनसहित ४ जना सेना गोली शहिद भएका  हुन् ।  ज्यान गुमाउनेहरूमा भारतीय सेनाका क्याप्टेन ब्रिजेश थापा, नायक डी राजेश तथा सिंपाहीहरू विजेन्द्र र अजय रहेका छन् ।

अहिले पनि उक्त जंगल इलाकामा सेनाले सर्च अपरेशन चलाइरहेको छ । सेनालाई जंगलमा चरमपन्थीहरू लुकिरहेको सूचना मिलेको थियो । सेनाले उनीहरूलाई ड्रोन र हेलिकोप्टरमार्फत खोजिरहेको छ ।

सेनाका जवानको ज्यान लिएको घटनाको जिम्मा चरमपन्थी संगठन कश्मिर टाइगर्सले लिएको छ ।

‘कश्मिर टाइगर्स’ले विज्ञप्ति निकालेर भारतीय जवानले ‘मुजाहिद्दिन’को खोजी अभियान थालेपछि जवाफी कारबाही गरेको जनाएको छ ।

यसअघि ८ जुलाईमा जम्मु-कश्मिरकै कठुआको बदनोटा इलाकामा सेनाको गस्ती टोलीमाथि हमला हुँदा ५ जना मारिएका थिए ।

प्रतिक्रिया