राष्ट्रिय सुरक्षा र द्रुतमार्ग निर्माण प्राथमिकतामा : रक्षामन्त्री राई


काठमाडौँ – रक्षामन्त्री मानवीर राईले राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ-तराई र मधेस द्रुतमार्ग समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

सिंहदरवारस्थित रक्षा मन्त्रालयमा पदवालीपछि सञ्चारकर्मीको जिज्ञासामा उनले राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।

उनले विपद्को प्रभाव वा क्षति कम गर्न जोखिम क्षेत्रको पूर्वाअनुमान तथा पहिचान गरी खोज, उद्धार र पुनःस्थपानका लागि तयारी अवस्थामा रहने सम्बन्धी प्रस्ताव स्वीकृत गरे ।

उक्त निर्णयमा विपद् व्यवस्थापनमा संलग्न जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र सम्बन्धित स्थानीय तहलगायतका निकायसँग समन्वय तथा सहकार्य गर्ने विषय उल्लेख छ ।

विपद्बाट सृजना हुने सक्ने असहज परिस्थिति कम गर्न खोज, उद्धार र पुनः स्थापनाका लागि आवश्यक हेलिकप्टर, सवारी साधन र सामग्री तयारी अवस्थामा राख्ने तथा दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेका महिलाको उद्धारका लागि प्रभावकारी समन्वय तथा तयारी गर्ने लगायतका विषय समेटिएको छ ।

कोशी प्रदेशको सोलुखुम्बु, माप्य दूधकोशी-२ मा वि.स. २०२७ मा जन्मिनुभएका राईले वि.स. २०४२ बाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । उनी व. स. २०७९ मा सम्पन्न आम निर्वाचनमा सोलुखुम्बुबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

वि. स. २०४६ पछि नेकपा (एमाले) जिल्ला कमिटी सदस्य, जिल्ला उपाध्यक्ष र उपसचिव हुँदै वि. स. २०७२ मा जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भए । हाल उनी पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया