केन्यामा फोहोरको थुप्रोमा आठ महिलाको शव भेटियो
काठमाडौं – नैरोबीको सुकुम्बासी बस्तीको फोहोर फाल्ने स्थानबाट आठजनाको शव फेला परेको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् ।
कार्यवाहक प्रहरी प्रमुख डगलस कान्जाले पत्रकार सम्मेलनमा भने, ‘तिनीहरूलाई टुक्रा–टुक्रा पारिएको, सडेको विभिन्न अवस्थामा बोरामा छोडिएको थियो ।’
कान्जाका अनुसार पहिलो ६ जनाको शव शुक्रबार र अन्य दुई महिलाको शव शनिबार फेला परेको थियो। उनले थपे, ‘म सबै नागरिकलाई आश्वस्त पार्न चाहान्छु कि हामी पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्न प्रतिबद्ध छौं ।’ कान्जाले अनुसन्धानमा जनसहयोगका लागि आह्वान गर्दै यस्ता जघन्य घटनाका दोषीलाई कानुनी कठघरामा ल्याउने बताएका छन् ।
गत महिना सरकारविरोधी प्रदर्शनका क्रममा दर्जनौं प्रदर्शनकारीको मृत्यु भएको थियो। जनआक्रोश बढेपछि केन्याका प्रहरी प्रमुख जाफेट कुमेले पदबाट राजीनामा दिएपछि कान्जाले यसै साता मात्र पदभार ग्रहण गरेका हुन् ।