प्रधानमन्त्री बने लगत्तै ओलीले दिए सबैलाई धन्यवाद
काठमाडौं – प्रधानमन्त्री बने लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिएका छन् । ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
त्यस लगत्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्–सबैमा सम्मान, सबैलाई धन्यवाद । यसअघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।
तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबी पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अब शपथ भने सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपतिको कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ गर्ने गरी तयारी गरेको छ । ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहान नै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् । तर अहिलेसम्म सरकारमा जाने मन्त्रीहरुको टुंगो कांग्रेस र एमालेले लगाउन सकेका छैनन् ।