त्रिशुलीबाट बाँचेर फर्केका नन्दन भन्छन् –भगवानको नाम लिएर अध्याँरोमा अन्धाधुन्द पौडी काटे


काठमाडाैं- मुग्लिन- नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने सिमलताल सडकमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो खसेको थियो ।

पहिरोले बगाउँदा यात्रुसहितका २ वटा गाडी त्रिशुलीमा बेपत्ता भएका छन् । सिमलतालमा खसेको पहिरोले बगाएकोमध्ये एन्जल डिलक्समा २४ जना रहको खुलेको छ ।  यस्तै गणपति डिलक्समा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ । बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । बाँच्न सफल भएका तीजना यात्रुको बयानको आधारमा उक्त स्थानमा खोजी कार्य भइरहेको हो ।

ज्यान जाेगाउन सफल भएका एक यात्रु  रौतहटका नन्दन दासको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनले आफू नदीमा खसिसकेपछि पौडी काटेर बाँचेको बयान दिएका छन् ।

उनी भन्छन्-
हामी मुग्लिङबाट खाना खाएर एक घण्टा भएको थियो हिँडेको । त्योबेला पानी झम्झम् परिरहेको थियो । अचानक बस पल्टिखायो । पल्टि खाँदाखाँदै बस त्रिशुलीभित्र गयो । तर, कहाँबाट हो थाहा छैन, म बसबाट बाहिर निस्के । त्यसपछि म पौडिन सुरु गरे । राति भएकाले मलाई थाहा थिएन, कहाँ पौडी खेल्दैछु भनेर । बस् अध्याँरोमा भगवानको नाम लिँदै अन्धाधुन्द पौडी खेल्दै थिए । भगवानले बचाउँछन् भनेर पौडी खेल्दाखेल्दै किनारमा रहेको ढुंगामा पुगेँ । फेरि पहाड चढ्न सुरु गरेँ । माथि सडक आयो । सडकमा जाम थियो । त्यहाँ रहेको एक बस चालकलाई घटनाबारे बताएँ । उहाँले प्रहरीलाई जानकारी गराउनु भएको थियो । त्यसपछि प्रहरी आएर मसहित अन्य बाँचेकालाई अर्को गाडीमा पठाए ।

 

प्रतिक्रिया