

‘पार्टी अलग भएपछि प्रचण्डलाई फोन गरेको थिएँ’, संसदीय दलभित्र प्रधानमन्त्रीले खोलेका तथ्यहरू

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले पार्टी अलग गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले फोन गरेको खुलाएका छन्।
फोन गरेपछि १५ दिनभित्र एकता गर्न आउनु भनेको विषयलाई उनले शनिबार संसदीय दलको बैठकमा खुलाएका हुन्। उनले माधव कुमार नेपाललगायतका नेतालाई स्पष्टिकरण सोधिने र कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि खुलासा गरेका छन्।
उनले भने,‘प्रतिक्रियावादी तत्वसँग साँठ–गाँठ गरी गुटको भेला गरी राष्ट्रिय भेला गर्ने, प्रतिवेदनका नाममा झूठा आरोप लगाउने? म अध्यक्ष र महासचिवले नबोलाएको बैठक र भेलाबारे स्पष्टिकरण सोधिनेछ।’
उनले अगाडि भने,‘निर्लजजतापूर्वक कम्युनिस्ट अन्दोलनकै इतिहासमा कलंकको रुपमा गरिएको भेलाको आयोजक अगुवालाई स्पष्टीकरण सोधिनेछ। सच्चिएर आए अत्मालोचना गरेर आए सोच्न सकिनेछ नत्र कार्बाहीको प्रक्रिया अगाडि बढाइनेछ।’
उनले पार्टी पुरानै स्थानमा आएपछि माधवकुमार नेपाललाई पनि भेट्न फोन गरेको उल्लेख गरे। त्यसअघि सल्लाह गरौं भनेर प्रचण्डलाई फोन गरेको पनि बताए।
उनले भने,‘प्रचण्डलाई सल्लाहका लागि फोन गरेको थिएँ। माधव नेपाललाई कल गरे उहाँ यहाँ नाउने भनेपछि पार्टी कार्यालयमा बसियो। तर कुनै रियलाइजेसन भएन। माधव नेपालको प्रतिवेदन र बक्तव्य र गुटगत गतिविधिले हामीलाइ जुन ढंगले बदनाम गराउन खोजिँदैछ। अब स्पष्टीकरणको प्रक्रिया अगाडि बढ्छ।’
उनले सभामुख सरकार विरोधी गतिविधिमा लागेको बताए। उनले आफू मन नपरेको भए अविश्वासको प्रस्ताव ल्याउन चुनौति दिएका छन्।
प्रचण्डले चुनाव चिन्ह र पार्टी कब्जा गर्न खोजेको स्थितिलाई उल्लेख गरेका उनले आफू भएसम्म त्यो सपना नदेख्नका लागि चेतावनी दिए।
सो क्रममा बैठकमा पुगेका उपाध्यक्ष बामदेव गौतमलाई उनले स्वागत गर्दै भने,‘म बामदेब कमरेडलाई स्वागत गर्फछु। तपाईले त्यस्ता अराजक र गुटबाजहरुलाई समेटेर पार्टी एकता गर्न निकै लाग्नु भयो। सायद थाक्नु भयो। अब ढुक्क भएर यो अन्दोलन बलियो बनाउन लाग्नुहोस्।’

